उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरतः सात अर्ब गुमाउँदै सरकार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उड्डयन प्राधिकरणका महानिर्देशक हटाउने कसरतः सात अर्ब गुमाउँदै सरकार


३० भाद्र २०७४, शुक्रबार


काठमाडौं । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने उद्देश्यसाथ सोधिएको स्पष्टीकरणले नेपाल सरकारलाई सात अर्ब रुपैयाँ घाटा हुन सक्ने देखिएको छ ।

गौतमलाई सोधिएको स्पष्टीकरणपछि त्रिभुवन विमानस्थल विस्तारको ठेक्का विवादमा सिंगापुरमा चलिरहेको मुद्दाको आर्बिट्रेसनमा पराजित हुने सम्भावना बढेको छ । र, यस्तो भएमा नेपाल सरकारलाई सात अर्ब रुपैयाँ घाटा पर्नेछ ।

मन्त्री देवले गौतमलाई स्पष्टीकरण सोधेर त्रिभुवन विमानस्थल विस्तारको ठेक्का रद्द भइसकेको स्पेनिस कम्पनीलाई मुद्दा जित्न सजिलो पारिदिएका छन् । जबकि यसअघि काठमाडौं जिल्ला अदालत र उच्च अदालतमा मात्र होइन, स्पेनको अदालतमा हालेको मुद्दा पनि नेपाल उड्डयन प्राधिकरणले जितेको थियो । तर, यो मुद्दा सिंगापुरमा समेत चलिरहेको छ ।

मन्त्रालय स्रोतका अनुसार विभिन्न तहका अदालतमा मुद्दा जितेको प्राधिकरणले अब मन्त्रालयको स्पष्टीकरणलाई आधार मान्दै जफत भएको पर्फमेन्स ग्यारेन्टी, अग्रिम भुक्तानी र कम्पनीविरुद्ध हालेको मुद्दाका आधारमा करिब ७ अर्ब रुपैयाँ गुमाउनुपर्ने अवस्था आउन सक्छ । यसरी प्राधिकरणसँग मुद्दा लडिरहेको कम्पनीलाई फाइदा पुग्ने गरी स्पष्टीकरण तयार पार्नेमाथि छानबिन हनुपर्ने मागसमेत हुन थालेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस