अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने


२९ भाद्र २०७४, बिहिबार


वासिङ्गटन (डिसी) । अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ५० अर्ब बराबरको रकमसम्बन्धी सम्झौतामा आज वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ ।

नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अमेरिकी सरकारका तर्फबाट उपविदेशमन्त्री जोन जे सुलीभानले हस्ताक्षर गर्दे छन् ।

यो सम्झौता अनुसार कुल ६३ करोड डलरको कोष हुनेछ, जसमा नेपाल सरकारले १३ करोड डलरको योगदान हुनेछ भने अमेरिकी सरकारको ५० करोड डलर सहयोग हुनेछ । यो रकममार्फत लगानी गरेर नेपालको सडक सुधार र विद्युत् विकासका लागि एक एकीकृत योजना बनाइनेछ ।

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले संक्षिप्त कुराकानी गर्दै भने– नेपालको दिगो विकासको लागि यो महत्वपूर्ण सम्झौता हो । यसले नेपालको दिगो विकासमा टेवा पुग्ने मलाई विश्वास छ ।

अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत नेपाल यो सुविधा पाउने दक्षिण एशियाली क्षेत्रको एक मात्र देश हो । एमसिसी नेपाल कम्प्याक्ट नाम दिइएको उक्त सम्झौता अन्तर्गत प्राप्त गर्ने रकमले नेपालको गरिबी न्यूनीकरणका लागि र महत्वपूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपालको विद्युत् सेवामा सुधार र सडकको विस्तारको लागि यो रकम खर्च गरिने भएकाले जनताको जीवनस्तर माथि उकास्न र देशको दिगो विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस