लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोकसेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


२८ भाद्र २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालयसम्मको समग्र नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयन तहसम्मको अध्ययन र विश्लेषण गरेर मुलुकको सङ्घीय संरचना अनुसार शिक्षा नीतिको सुझाव दिन उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा उच्च स्तरीय शिक्षा आयोगको गठन कहिले गरियो ?
– वि.सं. २०७४ भदौं २२
– आयोगले मुलुकको वर्तमान संरचना सङ्घ, प्रदेश र स्थानीय तह अनुकूल शिक्षा नीति, कार्यक्रम र सङ्गठनको सुधार र परिमार्जन गर्न सुझाव दिने ।
– शिक्षा क्षेत्रमा विद्यमान समस्या पहिचान गरी तत्काल गर्नुपर्ने काम सिफारिस गर्ने र सङ्घीयतामा गर्नुपर्ने दीर्घकालीन सुधारको मार्गचित्र तयार गरी प्रतिवेदन पेस गर्न भनी उच्च स्तरीय कार्यदलसमेत गठन गरिएको । मन्त्रीको संयोजकत्वको कार्यदलमा शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, प्रा. मनोहरलाल श्रेष्ठ, प्रा. श्रीरामभक्त माथेमा, प्रा. अमुदा श्रेष्ठ, श्रीकृष्ण यादव, जनार्दन नेपाल, महाश्रम शर्मा एवम् सोम पनेरु रहेका । आयोग र कार्यदल दुवैको सदस्य सचिवमा शिषा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल रहेका ।

२. स्थानीय तहको तेस्रो चरणको निर्वाचन मिति कुन हो ?
– वि.सं. २०७४ असोज २
(प्रदेश नं. २ का आठ जिल्लामा असोज २ गतेको निर्वाचनमा १३६ वटा स्थानीय तह रहेका ।)

३. ज्योति लाइफ इन्सुरेन्सले सञ्चालन अनुमति कहिले प्राप्त गर्यो ?
–वि.सं. २०७४ भदौ १९

४. २०७४ भाद्र २२ मा मनाइएको १४ औँ निजामती सेवा दिवसको नारा के हो ?
– निजामती सेवाको प्रतिवद्धताः पारदर्शिता र चुस्तता

५. ‘गल्ती गर्नु मानवीय कर्म हो र क्षमा गर्नु ईश्वरीय कर्म’ भन्ने बिचारक को हुन् ?
–अलेक्जेन्डर पोप

६. अमेरिकी सरकारद्वारा प्रदान गरिएको डाटा डिभन फार्मिङ अवार्ड– २०१७ बाट सम्मानित हुने दुई नेपाली कम्पनी कुन–कुन हुन् ?
– डिबिटुम्याप र आईसीटी फर एग्रिकल्चर
(डिबिटुम्यापलाई जीओ कृषि कार्यक्रमका लागि एक लाख अमेरिकी डलर र आइसीटी फर एग्रिकल्चरले ५० हजार अमेरिकी डलर प्राप्त गरेका ।)

७. म्यान्मारको राखिने राज्यमा रहेको मुस्लिम समुदाय कुन हो ?
– रोहिङ्गा
(पछिल्लो समय (२५ अगस्त, २०१७ बाट सुरु) मा राखिने राज्यमा भएको हिंसाका कारण करिब तीन लाख रोहिङ्गा मुस्लिम शरणार्थी भागेर बङ्गलादेश पुगेका । म्यानमारको राखिनेमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाका कारण सायौँ रोहिङ्गा मुस्लिमको मृत्यु भएको छ भने लाखौँको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका ।)

८. मेक्सिकोमा ८.० म्याग्निच्युटको शक्तिशाली भूकम्प कहिले गयो ?
– सन् २०१७ सेप्टेम्बर ८
(करिब एक मिनेटसम्म कम्पन महसुस गरिएको सो भूकम्पका कारण त्यस क्षेत्रमा दर्जनौँ मानिसको ज्यान जानुका साथै कैयौँ घर भत्किएका ।)

९. ३ सय ६५ गायक गायिकाद्वारा गाइएको वातावरण सम्बन्धी चेतनामूलक गीत कुन हो ?
– मिलानकोली
– सम्भवतः विश्वमै पहिलोपटक ३ सय ६५ गायकगायिकाले स्वराङ्कन गरेको गीत २०७४ भदौं १७ गते राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतद्वारा सार्वजनिक गरिएको ।
– गीतमा राष्ट्रकवि घिकिरेदेखि नेपालका ख्यातिप्राप्त गायकगायिका एवम् सङ्गीतकर्मी कलाकारको स्वर समावेश गरिएको ।
– वातावरण संरक्षणको विषय उठान गरी तयार पारिएको गीतमा शब्द तथा सङ्गीत निपेश ढकालको रहेको । एउटै गीतमा ३ सय ६५ गायकगायिकाले स्वराङ्कन गरेको पहिलो गीत भएको बताउँदै गीतकार ढकालले यो गीतलाई गिनिज बुक अफ् वल्र्ड रेकर्डमा दर्ता प्रक्रिया अघि बढाउने जनाएका ।

१०. हालसालै चीनको कुन सहरमा नेपालले महावाणिज्य दूतावास स्थापना गरेको हो ?
– ग्वान्झाओ
– दक्षिण चीन सँगको सम्पर्क र द्विपक्षीय व्यापारिक कारोबार सहज बनाउने उद्देश्यका साथ महावाणिज्य दूतावास स्थापना गरिएको ।
– नेपाल–चीन व्यापारको करिब ६० प्रतिशत हिस्सा ग्वान्झाओले ओगट्ने भन्सार विभागले जनाएको । तातोपानी नाका बन्द भएपछि ठूलो व्यापारिक कारोबार ग्वान्झाओबाट हुँदै आएको ।

विषयगत प्रश्नोत्तर

१. प्रेस काउन्सिलको काम, कर्तव्य र अधिकार के–के हुन् ?

सवोच्च अदालतको अवकाश प्राप्त न्यायाशी वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्ति मध्येबाट नेपाल सरकारले मनोनीन गरेका व्यक्तिको अध्यक्षतामा गठित प्रेस काउन्सिलको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था प्रेस काउन्सिल ऐन, २०४८ ले गरेको छः
– पत्रकारिता सम्बन्धी नीतिलाई समय समयमा अवलोकन गरी सम्बन्धित क्षेत्रको राय सल्लाह लिई नेपाल सरकारलाई सुझाव दिने,
– स्वस्थ पत्रकारिताको विकास गर्न पत्रकारिता सम्बन्धी आचारसंहिता तयार गरी लागू गर्ने,
–पत्रकारिताको विकासका लागि नेपाल सरकारलाई सुझाव दिने,
– पत्रपत्रिकामा प्रशाशित समाचारसँग सम्बन्धित विषयलाई लिएर कसैले प्रेस काउन्सिलमा उजुरी दिएमा सो सम्बन्धमा आवश्यक कारबाही गर्ने,
– पत्रपत्रिकाको गतिविधि एवम् वस्तुस्थिति बारे अध्ययन र मूल्याङ्कन सहितको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्ने,
– पत्रपत्रिकामा प्रशाशित असामाजिक र आपत्तिजनक कुराका सम्बन्धमा छानबिन गर्ने,

२. अपाङ्गता तथा असहाय अपाङ्गत भनेको के हो ?

सामान्य दैनिक कार्य गर्न शारीरिक तथा मानसिक तवरले असमर्थ भएको व्यक्तिलाई अपाङ्ग भनिन्छ । यसले कुनै व्यक्ति कानो, अन्धो, बहिरो, लाटो, लठेब्रो, लुलो, कुँजो, लङ्गडो, खोरण्डो, डँुडो तथा सुस्त मनस्थिति छ भने त्यसलाई पनि जनाउँदछ । त्यस्तै असहाय अपाङ्ग भन्नाले जायज्येथा केही नभएको, स्याहार सुसार गर्ने कोही नभएको, आफै रोजगार गरी खान नसक्ने अपाङ्गलाई जनाउँदछ । नेपालमा आपाङ्गलाई समाजकै सक्षम सदस्य एवम् सक्रिय रुपमा उत्पादनशील नागरिक बनाउन आपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ तर्जुमा गरी अपाङ्गको परिभाषा तथा अपाङ्गपनको निर्धारण गरिएको छ ।

३. नेपाल प्रहरीमा अनिवार्य अवकाश सम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

प्रहरी नियमावली, २०७१ मा नेपाल प्रहरीमा उमेर हद, पदावधि र सेवा अवधिमध्ये कुनै एक आधारमा सरकारी सेवाबाट स्वतः अवकाश पाउने व्यवस्था छ ।
(क) उमेर हदबाट अवकाश
देहायको पदमा बहाल रहेका प्रहरी कर्मचारीको देहाय बमोजिम उमेर पूरा भएमा अनिवार्य अवकाशः प्रहरी महानिरीक्षक– ५८ वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक– ५६ वर्ष, प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक– ५५ वर्ष, प्रहरी नायव उपरीक्षक– ५४ वर्ष, प्रहरी निरीक्षक– ५३ वर्ष, प्रहरी नायव निरीक्षक– ५२ वर्ष, प्रहरी सहायक निरीक्षक– ५१ वर्ष, प्रहरी हवल्दार र प्रहरी जवान– ४८ वर्ष, प्रहरी कार्यालय सहयोगी– ५५ वर्ष, प्रविधिक प्रहरी समूहमा कार्यरत प्रहरी प्राविधिक कर्मचारीको हकमा उमेर हद् राजपत्राङ्कित द्वितीय श्रेणीदेखि माथि– ५८ वर्ष, राजपत्राङ्कित तृतीय श्रेणी– ५६ वर्ष राजपत्र अनङ्कित द्वितीय र तृतीय श्रेणी–५४ वर्ष,

(ख) पदावधिबाट अवकाश
देहायका पदमा देहायको अवधिसम्म बहाल रहेको प्रहरी कर्मचारीले सो अवधि भुक्तान गरेमा अनिवार्य अवकाश प्रहरी महानिरीक्षक – ४ वर्ष, प्रहरी अतिरिक्त महानिरीक्षक/प्रहरी नायव महानिरीक्षक– ५ वर्ष, प्रहरी वरिष्ठ उपरीक्षक– ६ वर्ष, प्रहरी उपरीक्षक– १० वर्ष,

(घ) सेवा अवधिबाट अवकाश
३० वर्ष नोकरी अवधि पूरा भएको प्रहरी कर्मचारी अधिवार्य अवकाश,

 

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस