आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयोग नबन्दा महाकाली सन्धिको विवाद जटिल


२८ भाद्र २०७४, बुधबार


बेपत्ता

काठमाडौं । महाकाली सन्धिले व्यवस्था गरेको ‘महाकाली नदी आयोग’ गठन नहुँदा दुई देशबीच जलस्रोत बाँडफाँटलगायत दर्जनौं विवादास्पद मुद्दा जटिल बन्दै गएका छन् । भारतसित दर्जनौं पटक बैठक बसी छलफल हुँदासमेत पानी बाँडफाँटलगायत मुद्दा निरुपण नभएपछि आयोगको अभाव खट्किन थालेको छ । भारतले एकपछि अर्को गर्दै महाकाली सन्धिको व्याख्यामा विवाद झिकेर सन्धि कार्यान्वयनमा समस्या उत्पन्न भएपछि यस्तै विवाद निरुपण गर्न परिकल्पना गरिएको आयोगको अभाव हाल आएर ऊर्जा मन्त्रालय, जल तथा ऊर्जा आयोगलगायत नेपालका सरोकारवाला निकायले गर्न थालेका छन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी पीभी नरसिंह रावले ०५२ साल माघ २९ गते महकाली सन्धिमा हस्ताक्षर गरेका थिए । सन्धिमा हस्ताक्षर भएयता महाकालीको पानी बाँडफाँट, सन्धिमै उल्लेख नभएको भारतीय उपभोग्य उपभोगको अधिकार र नेपालले पाउने पानीका विषयमा दुई देशबीच विवाद र अडान बढ्दै आएको छ । पछिल्लोपटक भारतको नयाँदिल्लीमा दुई देशका जलस्रोतसचिवस्तरीय बैठकमा पनि पानी बाँडफाँट र सन्धिको व्याख्यामा आ–आफ्ना अडान यथावत् रहेकाले सन्धि भएको २२ वर्ष पुग्न लाग्दा पनि सहमति हुन सकेको छैन । यस्तो सहमति खोज्ने संयन्त्र स्थापना नभएकै कारण विवाद निरुपण हुन नसकेको पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले बताए ।

महाकाली सन्धिको मुख्य अवयव मानिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि भारतीय सरकारी कम्पनी वाप्कोसले मस्यौदा गरेको विस्तृत परियोजन प्रतिवेदन (डीपीआर) मा महाकालीको पानी बाँडफाँट, जडित क्षमता, महाकाली पारिका नेपाली दुई गाउँ दोधार र चाँदनीलाई पानी उपलब्ध गराउनेलगायत विषयमा विवाद उत्पन्न भएको छ । पछिल्लोपटक भारतको नयाँदिल्लीमा २१ भदौमा सम्पन्न विशेष सम्मिलित बैठक (टीओई) ले महाकालीको उपभोग्य उपभोगको अग्राधिकारको सवाल पुनः उठाएपछि डीपीआरमा सहमति हुन सकेको छैन ।

बैठकमा सहभागी नेपालका जलस्रोत अधिकारीका अनुसार भारतले सन्धिको धारा ३ मा उल्लिखित पञ्चेश्वरको कार्यान्वयन नभई धारा ४ मा व्यवस्था भएको ‘नेपालको दोधारा र चाँदनी क्षेत्रको सिँचाइु का लागि पानी दिने व्यवस्था लागू गर्न नसकिने बखेडा झिक्दै आएको छ । ‘धारा ३ कार्यान्वयन भइसकेपछि मात्र धारा ४ कार्यान्वयन हुन्छ’ भारतीय समकक्षीको भनाइ उद्धृत गर्दै ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘सन्धिका धारा योपछि यो भन्ने होइन, स्वतन्त्र रूपले लागू हुन्छ र हुनुपर्छ भन्ने हाम्रो मान्यतालाई भारतले विवादित बनाउँदै आएको छ ।’

महाकाली सन्धिको धारा ४ ले दोधारा र चाँदनी क्षेत्रको सिँचाइका लागि भारतले १० घनमिटर प्रतिसेकेन्ड (३५० क्युसेक) पानी उपलब्ध गराउने ग्यारेन्टी गरेको छ । तर, भारतले धारा ३ को पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन नभएसम्म धारा ४ कार्यान्वित हुन नसक्ने विवाद झिक्दै आएको छ ।

यसैगरी, महाकालीको पानी उपयोग गर्न भारतले बनाएको टनकपुर ब्यारेजदेखि एक सय ६० किलोमिटर तलको तल्लो शारदा सिँचाइ प्रणालीमार्फत भारतले उपभोग गरिरहेको पानी कटाइसकेपछि मात्र ‘महाकालीको पानी आधा’ भन्ने भारतीय दाबी पनि विवादको विषय बन्दै आएको छ । यीलगायत सारा विवादित विषयलाई निरुपण गर्ने उद्देश्यले सन्धिको धारा ९ मा ‘महाकाली नदी आयोगु गठन हुने प्रावधान गरिएको पूर्वजलस्रोत सचिव एवं महाकाली सन्धिको मस्यौदाकार उपाध्यायले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस