सम्भावनाको शुक्लाफाँटा ओझेलमा « प्रशासन
Logo १४ मंसिर २०७८, मंगलबार
   

सम्भावनाको शुक्लाफाँटा ओझेलमा


२६ भाद्र २०७४, सोमबार


भीमदत्तनगर । थोरै क्षेत्रफलमा धेरै पाटे बाघ, विश्वमै दुर्लभ बाह्रसिंगाको विशाल झुण्ड, त्यसैमा दुर्लभ एकसिंगे गैँडा र हात्तीको लस्कर । त्यतिमात्र नभई ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गी, सीमसार क्षेत्र र ऐतिहासिकस्थल छन् कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र ।

वन्यजन्तुप्रेमी पर्यटक पक्कै पनि एकैथलोमा अवलोकन गर्न यस्तै गन्तव्यको खोजी गर्छन् होला । तर, पर्याप्त सम्भावना बोकेको शुक्लाफाँटामा पर्यटक भित्र्याउने र यहाँको प्रचुर सम्भावनालाई नियाल्ने दरिलो प्रयास हुन सकेको छैन ।

गत वर्ष आरक्षबाट निकुञ्जमा परिणत भइसक्यो शुक्लाफाँटा । निकुञ्जभित्र वन्यजन्तुको विभिन्नखाले व्यवस्थापनदेखि त्यहाँ अवलोकनका लागि आउने पर्यटकका लागि निकुञ्ज प्रशासनले अनेकन पहल गरेको छ । तर शुक्लाफाँटाको पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन अझै सकिएको छैन ।

निजीस्तरबाट केही पहल भए पनि त्यसले सार्थकता पाउन सकिरहेको छैन । बाहिरबाट आदिवासी थारु समुदायको वेशभूषा, संस्कृति र रहनसहनले सिँगारिएको शुक्लाफाँटामा पर्यटक भित्र्याउने पर्याप्त सम्भावना छन् । तर, स्वदेशी र विदेशी पर्यटकका लागि उपयुक्त मानिएको शुक्लाफाँटामा पर्यटकको संख्या बढ्न सकेको छैन । अवस्था सन्तोषजनक छ भनेर चित्त बुझाउनुपर्ने स्थिति बन्न सकेको छैन ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल महाकालीमा पक्की पुल बने शुक्लाफाँटामा भारतीयका साथै तेस्रो मुलुकका पर्यटकको आगमन बढ्नेमा विश्वस्त छन् । “काठमाडौंबाट शुक्लाफाँटाको प्याकेज महँगोका साथै यहाँका होटल पूर्वाधार पनि पर्यटकका लागि न्यून मात्र भए,” प्रमुख संरक्षण अधिकृत ढकालले भने, “अब अन्तर्राष्ट्रियस्तरसम्म शुक्लाफाँटा आरक्षबाट निकुञ्ज भइसक्यो भनेर प्रचारप्रसार गर्नुपर्ने अवस्था छ ।” उनले शुक्लाफाँटा जंगल सफारी आगामी असोज १ गतेदेखि खुल्ने बताए ।

मुलुकका थोरै प्रदूषणरहित पर्यटकीय क्षेत्रमध्येको शुक्लाफाँटा निकुञ्ज ३०५ वर्ग किमीमा फैलिएको छ । चौवन्न वर्ग किमी घाँसे मैदानमा देख्न पाइने दुर्लभ बाह्रसिंगेको झुण्ड यहाँको प्रमुख आकर्षण हो । सदरमुकाम महेन्द्रनगरबाट पाँच किमी पश्चिम दक्षिणमा रहेको यस निकुञ्जको प्रवेशद्वारबाट भित्रिने पर्यटकले निकुञ्ज भ्रमणपछि यसको महत्व सहजै बुझ्न सक्छन् ।

पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुर्लभ वन्यजन्तु र पर्यटकीयस्थल अवलोकनका लागि दिनहुँजसो पर्यटक नेपाल भित्रिने गरेका छन् । तर, उनीहरुको गन्तव्य भने शुक्लाफाँटा अझै हुन सकेको छैन । पश्चिमी नाकाबाट भारतको राजधानी नयाँ दिल्ली करिब ३५८ किमीको दूरीमा पर्छ । यात्रा सहजताका लागि महाकाली नदीमा बनिरहेको पक्की पुलले यहाँको पर्यटन आवागमनमा सहजता ल्याउनेमा कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष तथा पर्यटन व्यवसायी परमानन्द भण्डारी आशावादी छन् ।

निकुञ्जको सिंहपुर क्षेत्रमा साइलेन्स सफारी क्याम्प जंगल लज सञ्चालन गरेका व्यवसायी हिक्मत विष्टले पर्यटकको अभावमै डढेलोमा क्याम्प जलेपछि हिम्मत गर्न सकेनन् । शुक्लाफाँटामा पर्यटक भित्र्याउने उद्देश्यले निकुञ्जको मध्यवर्ती क्षेत्रका युवालाई छ वर्षअघि पथ प्रदर्शक तालीम दिइयो । तर, पर्यटकको अभावमा उनीहरुकासामु निराशाबाहेक अरु केही छैन । विसं २०३१ मा स्थापना भएको निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको भवानी बक्स गण खटिएको छ ।

अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन शुक्लाफाँटामा बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष शुक्लाफाँटा निकुञ्जको दुई हजार ६०० भन्दा बढी पर्यटकले अवलोकन गरेको निकुञ्ज कार्यालयले जनाएको छ । अघिल्लो वर्ष एक हजार ९०० पर्यटक भित्रिएका थिए ।

प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, “बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउँछन् ।” शुक्लाफाँटाभित्र रानी तालसहितका आधा दर्जनभन्दा बढी प्राकृतिक ताल छन् । त्यस्तै निकुञ्जदेखि नौ किमीको दूरीमा रहेको महाकाली नदीमा एक हजार ४५२ मिटर लामोे झोलुंगे पुल रहेको छ । यो कञ्चनपुरको पर्यटकीय क्षेत्रमा थप गहना भएको छ ।

कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष तथा पर्यटन व्यवसायी भण्डारीले शुक्लाफाँटा निकुञ्जको प्रचारप्रसार हुन नसकेको बताए । “सम्भावनाका ढोका छन्, तर प्रचारप्रसारको अभाव छ,” उनले भने । शुक्लाफाँटाको प्रचारप्रसारका लागि राज्य र स्थानीय तहबाट पहल हुनुपर्नेमा उनले जोड दिए । प्रचारप्रसारमा सरकारीस्तरबाट पनि सामान्य सहयोगबाहेक केही नभएको उनको गुनासो छ । “शुक्लाफाँटा चिनाउन स्थानीयवासी पनि अग्रसर हुनुपर्ने बेला आएको छ,” पर्यटन व्यवसायी भण्डारीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस