एमबिबिएसका दुई सय विद्यार्थी बंगलादेशमा अलपत्र, इन्टर्नसिप गर्नबाटै वञ्चित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमबिबिएसका दुई सय विद्यार्थी बंगलादेशमा अलपत्र, इन्टर्नसिप गर्नबाटै वञ्चित


२५ भाद्र २०७४, आइतबार


माठमाडौं । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ ।

नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरू बंगलादेश जाने गरेका छन् । नेपालमा एमबिबिएसको सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । ‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ । अहिले प्राप्त जानकारीअनुसार दुई सयको हाराहारीमा एमबिबिएस अध्ययनका लागि गएका विद्यार्थी अलपत्र परेका छन्,’ काउन्सिलका रजिस्ट्रार डा। दिलीप शर्माले नयाँ पत्रिकासँग भने ।

बंगलादेशका ५० वटा मेडिकल कलेजमा नेपाली विद्यार्थी भर्ना भएको मेडिकल काउन्सिलले जनाएको छ । ‘अहिले केही विद्यार्थी न्यायको माग गर्दै बंगलादेशको अदालतसम्म पुगेको जानकारी आएको छ । अलपत्र परेका विद्यार्थीबारे सम्बन्धित निकायसँग समन्वय गरेर चाँडै निर्णय लिनेछौँ,’ शर्माले भने ।

विभिन्न कन्सलटेन्सीले नेपालका मेडिकल कलेजको सिट संख्या घटेको फाइदा उठाउँदा विदेशमा विद्यार्थी अलपत्र परेको काउन्सिलले बताएको छ । ‘विद्यार्थी भर्ना हुने वेलामै मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने हो,’ डा. शर्माले भने, ‘तर, कलेजले विद्यार्थीलाई झुक्याएर अन्तिममा दर्ता गर्ने भन्दै राख्ने गरेको पाइयो । जसले गर्दा ठूलो रकम खर्च गरेर अध्ययन गरे पनि काउन्सिलले दर्ता नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।’ बंगलादेशमा २३ वटा सरकारी कलेज र निजी मेडिकल कलेको संख्या ५४ वटा छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस