आन्दोलन उद्गमस्थलमै मधेसीलाई सकस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आन्दोलन उद्गमस्थलमै मधेसीलाई सकस


२५ भाद्र २०७४, आइतबार


लहान । सिरहा सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए । साँझ घर फर्केका यादवले चौधरी मत माग्न आएको परिवारले जानकारी दिएपछि आक्रोशयुक्त टिप्पणी गरे, ‘उनलाई (चौधरी) कुट्नुपर्ने थियो हप्काएछौं मात्र ।’ यादवले भने, ‘कुनै बेला ममाथि २८ वटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने ।’

०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लहानमा आन्दोलनको नेतृत्वकर्तामध्येका हुन् । ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्किएको थियो । आन्दोलनको कृष्णबहादुरले नै लहानमा नेतृत्व गरेका थिए ।

उपेन्द्र यादवको कार्यशैलीप्रति असहमति जनाउँदै पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामै फोरम छाडेका यादव त्यसयता स्वतन्त्रपूर्वक जीवन बिताइरहेका छन् । पहिलो मधेस आन्दोलन तथा गौरकाण्डपछि उनीमाथि अझै ५ वटा मुद्दा चलिरहेको छ ।

‘आन्दोलन गरी फोरमलाई राजनीतिक शक्ति बनाउने हामी आज त्यतिकै बरालिएका छौं । जिन्दगीभर राप्रपामा रहेका लक्ष्मण चौधरी हाम्रो नगरपालिकामा फोरमबाट मेयरको टिकट पाएका छन्’, यादवेले आक्रोशयुक्त टिप्पणी गर्दै भने । चौधरी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाबाट फोरम प्रवेश गरेका थिए ।

लहान आन्दोलनबाटै राजनीतिक हैसियत पाएको फोरम नेपालको अवस्था चित्रित गर्दै यादवले भने, ‘फोरम टिक्दैन भनेर पहिलो संविधानसभालगत्तै मैले गरेको भविष्यवाणी अहिले मिल्दै गएको छ ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस