मुहार फेर्ला राजविराजले ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुहार फेर्ला राजविराजले ?


२४ भाद्र २०७४, शनिबार


काठमाडौं । मुलुककै पुरानो नगरमध्ये एक राजविराज भारत, जयपुरको नक्साअनुसार नेपालमा पहिलो पटक टाउन प्लानिङ गरी बस्ती विकास गरिएको नगर हो । सगरमाथा अञ्चल र सप्तरी जिल्ला सदरमुकामसमेत रहेको यो सहर मुलुककै चौथो र मधेसको पहिलो नगरपालिका पनि हो । यहींबाट राजनीति गरेर थुप्रै नेता नीतिनिर्माण तहसम्म पुगे तर नगरको विकासतर्फ कहिल्यै ध्यान दिएनन् ।

ऐतिहासिक साख जोगाउनै हम्मे छ अहिले यो नगरलाई । सहरका मुख्य सडक खाल्डाखुल्डीले भरिएका छन् । पानी पर्दा माछापोखरीझैं बन्छन् । भित्री गल्लीका सडकको अवस्था झन् जर्जर छ । अधिकारका नाममा भएका आन्दोलनमा राजविराजबाट पहाडी समुदाय पलायन हुँदै जादा नगरको आर्थिक कारेबार त खस्कियो नै, विकासको क्रम पनि अधोगतितर्फ धकेलिएको छ ।

राजविराज नगरपालिकामा पछिल्लो समय विभिन्न गाविस जोडिएका छन् । थपिएका ग्रामीण क्षेत्रका सडकको अवस्था झन् नाजुक छ । फोहोर विसर्जन यहाँको अर्को मुख्य समस्या हो । दैनिक १० टन फोहोर उत्सर्जन हुने यस नगरपालिकाले ५ टन पनि विसर्जन गर्न सक्दैन । सडकमै फोहोर फाल्नु नियतिझै देखिन्छ । २० वर्ष पछि राजविराजले पनि जनप्रतिनिधि चुन्दै छ । मेयरका उम्मेदवारहरु प्रचारका क्रममा सहरको विकासका खाका प्रस्तुत गरिरहेका छन् । तर समस्यै समस्याबाट ग्रसित राजविराजको विकास र ऐतिहासिकता संरक्षण सहज भने छैन । उम्मेदवारहरुले ३ महिनादेखि ५ वर्षसम्मको समयसीमा तोकेरै विकास निर्माणका आश्वासन दिइरहेका छन् । आम मतदाता भने नेताका आश्वासनमा भन्दा राजविराजको साख जोगाउने नेतृत्व चुन्ने जोडघटाउमा देखिन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस