समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समाजसेवीको आवरणमा लुकेका अस्ट्रेलियन यौनदुराचारी पक्राउ


२४ भाद्र २०७४, शनिबार


काठमाडौं । अस्ट्रेलियन नागरिक केन्डलर मार्कुसलाई धादिङ गोगनपानीका बासिन्दाले हरेकपटक गाउँ आउँदा सम्मान गर्थे । गोगनपानीमा उनको समाजसेवीको पहिचान थियो । नेपाल आएलगत्तै उनी सो गाउँमा पुग्ने गर्थे । तर, मार्कुसको उद्देश्य विशुद्ध समाजसेवा थिएन, सो गाउँका गरिब बालकहरूसँग अप्राकृतिक यौन गतिविधिमा रमाएर आनन्द लिने थियो । बिहीबार पक्राउ परेपछि मात्र मार्कुसको वास्तविकता उदांगो भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ठमेलको ठहिँटीस्थित होटेलबाट उनलाई पक्राउ गरी एक बालकलाई उद्धार गरेको छ ।

पेसाले इलेक्ट्रिसियन बताउने उनी पटक–पटक नेपाल आउने गरेको सिआइबीकी प्रवक्ता एसपी मीरा चौधरीले बताइन् । हालसम्म उनले दुई बालकमाथि यौनदुराचार गरेको पुष्टि भएको छ । ‘धेरै बालक उसबाट पीडित भएको हाम्रो अनुमान छ,’ एसपी चौधरी भन्छिन्, ‘उसलाई सहयोग गर्ने अन्य मान्छे पनि हुन सक्छ ।’ उनको थप पृष्ठभूमि थाहा पाउन प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ ।

सन् २०१४ देखियता उनी चारपटक नेपाल आइसकेका छन् । मार्कुस पछिल्लोपटक २० अगस्टमा नेपाल आएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस