उम्मेदवारीसँगै अन्तरकलह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उम्मेदवारीसँगै अन्तरकलह


२३ भाद्र २०७४, शुक्रबार


काठमाडौं । प्रदेश २ का ८ वटै जिल्लामा उम्मेदवार छनोटको बिषयलाई लिएर प्रमुख राजनीतिक दलमा आन्तरिक कलह चर्केको छ । त्यसले चुनावी प्रचारलाई समेत प्रभाव पारेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाको आन्तरिक विवादले कार्यकर्तामाझ अन्यौल खडा गरेपछि नेताहरुलाई चुनावी कार्यक्रमतिर भन्दा आन्तरिक व्यवस्थापन गर्नै अलमल भएको छ ।

अन्य दलका तुलनामा कांग्रेस र राजपाका कार्यकर्तामा बढी असन्तुष्टी देखिन्छ । मधेसमा १ नम्वर पार्टी बन्ने प्रतिस्पर्धामा रहेका यी दुवै दलमा देखिएको भित्री झगडा समयैमा व्यवस्थापन गर्न नसके त्यसको लाभ एमालेलगायत मधेस केन्द्रित अन्य दलले लिन सक्ने समीक्षा पनि सँगसँगै भइरहेको छ ।

असन्तुष्टीकै कारण पार्टीबाट विद्रोह गरी उम्मेदवार दिनेहरु पनि अघिल्ला चरणका तुलनामा प्रदेश २ मा बढी छन् । उपमेयरका तुलनामा मेयरमा बढ्ता स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र भएर उठ्नेमा सवैभन्दा बढी वडा अध्यक्षका आकांक्षी छन् । वीरगन्ज महानगरपालिकामा राजपा नेता विमल श्रीवास्तव पार्टीले टिकट नदिएपछि फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका छन् । राजपाका सांसद जंगीलाल राई औपचारिक रुपमै पार्टी छाड्ने तयारीमा छन् । उनी निकटका नेताहरु एमालेबाट टिकट लिएर चुनावी मैदानमा आएका छन् ।

जनकपुरका बुद्धिजिवी एवं प्राध्यापक सुरेन्द्र लाभले अघिल्ला चुनावमा भन्दा मधेसमा यसपटक उम्मेदवारको बिषयमा चर्को असन्तुष्टी देखिएको बताए । कार्यकर्तातहमा देखिएको यो असन्तुष्टीले अन्र्तघातको रुप लिएमा त्यसको सवैभन्दा असर कांग्रेस र राजपालाई पर्ने उनको ठम्याइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस