रोकिएन एटिम ह्याकिङ : दुई वर्षमा १७ विदेशी पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रोकिएन एटिम ह्याकिङ : दुई वर्षमा १७ विदेशी पक्राउ


२२ भाद्र २०७४, बिहिबार


काठमाडौं । गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो । पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटिएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन्।

सिआइबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो । नौ हजार सात सय १० अमेरिकन डलर, एक हजार दुई सय २५ युरो, ३३ हजार रुपैयाँसहित उनलाई ठमेलको रोयल पेन्गुइन होटेलबाट पक्राउ गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । नक्कली एटिएम कार्डमार्फत नेपालमै निकालिएको पैसा बरामद भएको उनले बताइन् । ३४ वटा नक्कली एटिएम, कार्ड स्किमर मेसिन र ल्यापटपसहित प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एटिएमबाट पैसा निकाली डलर र युरो साटेका थिए ।

नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरी उनले पटक–पटक नक्कली एटिएमबाट पैसा निकालेको सिआइबीले जनाएको छ । विदेशी नागरिकको विदेशी बैंकमा रहेको खाताबाट पैसा निकालिएको हो । भिसा तथा मास्टरकार्डहरू विश्वभरि चल्ने भएकाले नेपाल आएर उनीहरूले पैसा निकाल्ने गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस