१२ वटा प्रहरी चेकपोस्ट छलेर कसरी भित्रियो ८८ केजी सुन ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

१२ वटा प्रहरी चेकपोस्ट छलेर कसरी भित्रियो ८८ केजी सुन ?


२० भाद्र २०७४, मंगलबार


सुन

काठमाडौं । रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए ।

कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा लुकाइएको थिएन, पछाडिको भागमा राखेर ल्याइएको थियो । उनले हरेक साताजसो चीनबाट सुन ल्याउँदै आएका थिए । सोमबार बिहान चालक मनोज अधिकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र उनको शृंखलाबद्ध सुन तस्करीको रहस्य खुलेको हो । महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट तस्करीको ८८ केजी सुन बरामद गरेको हो ।

सुन तस्करीका मुख्य नाइके क्वाङ भने फरार भएका छन् । एकैपटक करिब ४३ करोड रुपैयाँबराबरको सुन बरामद भएकाले यसमा राज्यका विभिन्न निकायलाई प्रभाव पार्न सफल ठूलै गिरोह संलग्न रहेको प्रहरी आशंका छ ।

महानगरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्द मुख्य तस्करहरू खोज्न आफूहरूले पक्राउ परेका चालकलाई संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको बताउँछन् । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म अभियुक्तलाई हिरासतमा राखी कारबाही गर्न सक्छ ।

समूहबीच विवादले खुल्यो राज
आइतबार दिउँसो धेरैवटा प्रहरी कार्यालयले रसुवागढीबाट ठूलो मात्रामा तस्करीको सुन बोकेको गाडी क्षेत्रपाटीमा हुने सुराकी दिएका थिए । स्रोतका अनुसार तस्करीमा संलग्न चिनियाँ गिरोहसँग विवाद भएका नेपालीहरूको अर्काे समूहले प्रहरीलाई सो सुराकी दिएको थियो ।

सोही आधारमा प्रहरी टोली खटिएको थियो । महाशाखाबाट खटिएको टोलीले सुन भएको गाडी नियन्त्रणमा लिन सफल भएको हो । टाटा स्ट्रोम ब्रान्डको गाडीभित्र लुकाइएका ८८ वटा सुनका बिस्कुट प्रहरीले बरामद गरेको थियो । ‘यसबाट अनुमान लगाउन सकिन्छ भने यो तस्करीमा एक–दुईजना मात्र होइन, ठूलै गिरोह आबद्ध भएको हुनुपर्छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका एसएसपी दिवेश लोहनीले भने  ।

क्षेत्रपाटीबाट करिब तीन सय मिटर पश्चिमतर्फको सडकछेउबाट महानगरीय अपराध महाशाखाबाट डिएसपी प्रजित केसी नेतृत्वको टोलीले सो गाडी नियन्त्रणमा लिई चालक अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले सो सुन होटेलका मालिकको भएको भन्दै ठमेलको काठमाडौं वान होटेलमा लिएर गएका थिए । त्यहीँ केही व्यक्तिलाई नियन्त्रणमा लिए पनि प्रहरीले सोधपुछपछि छाडिदिएको थियो । मुख्य तस्कर चिनियाँ नागरिक भएको र उनीहरूको खोजी भइरहेको महाशाखाका एसएसपी लोहनीले बताए ।

चिनियाँ नागरिक जिया क्वाङले सो गाडी क्षेत्रपाटीको जेनजोन होटेलबाट ठमेलको काठमाडौं होटेलमा पुर्याउन जिम्मा दिएका थिए । त्यसैका लागि चालक अधिकारी बिहान साढे २ बजे त्यहाँ पुगेका थिए । गाडी कुरेर बसेको वेला प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिहान ३ बजे सुन बरामद गरेकोमा प्रहरीले ९ बजे मात्र सार्वजनिक गरेको थियो । जसकारण सुन तस्कर भाग्न सफल भएका हुन् । सुन तस्करीमा होटेल वानका सञ्चालक रहेका चिनियाँ दम्पतीसमेत संलग्न रहेको गाडी चालक अधिकारीले प्रहरीलाई बताएका छन् ।

सो गिरोहमा काठमाडौंका सुन पसले तथा भारतीय व्यापारीहरूसमेत संलग्न रहेको प्रहरी आशंका छ । स्रोतका अुनसार सो समूहले ठमेलमा ठूलो मात्रा अवैध डलरको कारोबारसमेत गर्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस