‘बाढीमा घर गुमाएकालाई भेट्न चाहँदैनन् नेता’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘बाढीमा घर गुमाएकालाई भेट्न चाहँदैनन् नेता’


१९ भाद्र २०७४, सोमबार


काठमाडौं । वैशाखमा श्रीमान् बिते, साउन अन्तिम साता आएको बाढीले घर बगाइदियो । न ओत लाग्ने घर छ, न खाने अन्न नै । दुई अबोध सन्तान छन् । कसरी भरणपोषण गर्ने चिन्ता छ उनलाई ।

‘विपत्तिको पहाड जस्तै भएको छ यो जिन्दगी’, २८ वर्षीय अनिता सदाले भनिन्, ‘अबोध छोराहरुको मुख हेरेर मर्न पनि सकिँदैन तर बाँचन पनि त्यतिकै गाह्रो छ ।’

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित मुसहर बस्तीकी अनिताका सासूससुरा पनि छैनन् । जेठाजु र देवर छन् तर गरिबीका कारण आफ्नै परिवार पाल्न उनीहरुलाई धौ–धौ छ । बेलाबखत माइतीले सहयोग नगरेका पनि होइनन् । ‘तर माइतीकै भर कति दिन ?’ अनिता भन्छिन्, ‘बाढीले घर बगाएपछि माइतीबाट बुवा र भाइहरु आएर ओत लाग्ने छाप्रो बनाइदिए, उनीहरु पनि गरिबै छन्, कहिलेसम्म मेरो जिम्मेवारी धान्नु ।’

बाढीपीडित सप्तरीमा यतिखेर चुनावी अभियान तीव्र छ । रंगिबिरंगी, पर्चा पम्पलेट, टिसर्ट, तुल तथा ब्यानरले गाउँनगरका चोक, गल्ली रंगिएका छन् । टोलटोलमा चुनावी बैठक भइरहेका छन् । विभिन्न दलमा आबद्ध ठूला–साना नेताहरु आश्वासन बाँड्न व्यस्त देखिन्छन् । तर, कोइलाडीस्थित विपन्न मुसहर बस्तिीमा भने चुनावी चर्चा र चहल–पहल छैन । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस