उपल्लो डोल्पाको चामल दुई वर्षदेखि काठमाडौंमै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपल्लो डोल्पाको चामल दुई वर्षदेखि काठमाडौंमै


१७ भाद्र २०७४, शनिबार


काठमाडौं । जिल्लाको उत्तरी क्षेत्रका जनताले दुई वर्षदेखि सहुलियतको चामल र नुन खान पाएका छैनन् । केरुङ नाकाबाट तिब्बतको बाटो हुँदै खाद्यान्न लगिने गरेकोमा कर बढाइएको भन्दै ठेकेदारले खाद्यान्न ढुवानी गरेका छैनन् ।

उपल्लो डोल्पाका लागि आर्थिक वर्ष ०७२/७३ देखि छुट्याइएको ३८ सय क्विन्टल चामल र तीन हजार क्विन्टल नुन काठमाडौँकै गोदाममा थन्किएको ठेकेदार विजय रोकाले बताए । पछिल्लो समय केरुङ नाकामा भन्सार दर बढाएपछि खाद्यान्न ढुवानी गर्न नसकेको ठेकेदार रोकाको भनाइ छ । ‘केरुङ नाकामा भन्सार दर बढाइएको छ, त्यसकारण खाद्यान्न ढुवानी गर्न सकिएन,’ रोक्काले भने ।

उपल्लो डोल्पामा तिब्बतको बाटो हुँदै खाद्यान्न पुर्‍याइन्छ । रसुवाको केरुङ नाकाबाट तिब्बत प्रवेश गरी ट्रकले उपल्लो डोल्पाको सीमासम्म खाद्यान्न पुर्‍याउँछन् । त्यहाँबाट खच्चरमार्फत नेपालतर्फ खाद्यान्न ढुवानी हुन्छ । सरकारले त्यहाँ वर्षको एकपटक मात्र खाद्यान्न पुर्‍याउने गरेको थियो ।

प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्य संकट हुन्छ । खाद्य संकट हुन नदिन सरकारले पठाएको सहुलियतको खाद्यान्न काठमाडौंमै थन्किँदा स्थानीय मारमा परेका छन् । सरकारले विगत वर्षमा छोटो समय र कम ढुवानी रकममा उपल्लो डोल्पाका से–फोक्सुन्डो, छार्काताङसोङ र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न पुर्‍याउने गरेको थियो ।

पहिला तातोपानी नाकाबाट तिब्बत हुँदै खाद्यान्न लैजाने गरिएको थियो । भूकम्पले सो नाका अवरुद्ध भएपछि केरुङ नाकाबाट ढुवानी गर्ने गरेको साल्ट कर्पोरेसन डोल्पाका प्रमुख प्रकाशबहादुर धामीले जानकारी दिए । जानको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस