गजल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गजल


१७ भाद्र २०७४, शनिबार


सहर रुन्छ कोलाहलभित्र, दुर्गम भोकमरीमा रुन्छ
हिमाल रुन्छ हिमपातसँगै, तराई बर्खे झरीमा रुन्छ

विदेशीकै हितका लागि, गुलाम बन्छौ नेताहरू
वीरहरूको गाथा सम्झी, आज देशको गरीमा रुन्छ

महँगा ती स्कुल कलेज, पढ्छन् नेता तिम्रा सन्तान
हाम्रो शिक्षा कालोपाटी, अनि ढुङ्गे खरीमा रुन्छ

दरबार जस्ता महलभित्र, तिम्रा जीवन बित्दै गर्दा
त्रिपालभित्र कयौं आँखा, ओसिएको दरीमा रुन्छ

हीरा अनि मोती बन्छन्, भोका शरीर चुनाव आउँदा
जित्छांै अनि यो गरीब, पित्तलको भाउ सरीमा रुन्छ

प्रतिक्रिया दिनुहोस