एउटा पक्षले श्रीमान् खोसे, अर्कोले छोरा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एउटा पक्षले श्रीमान् खोसे, अर्कोले छोरा


१५ भाद्र २०७४, बिहिबार


रोल्पा । कोटगाउँ–३, रोल्पाकी ५९ वर्षीया मेघमाली बूढा तत्कालीन १० वर्षे माओवादी युद्धपीडित हुन् । २०५८ साल चैत्र १५ गते उनका श्रीमानलाई माओवादीले घरबाट लगेर छेउको गउँमा गोली हानेर मारेका थिए । एक छोरी, दुई छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन पढाउन कसर छोडिनन् । तर, दुर्भाग्य २०५९ सालमा दाङमा पढ्ने भाइ भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठो छोरा हीराबहादुर बूढालाई उतैबाट तत्कालीन शाही नेपाली सेनाले बेपत्ता बनायो ।

श्रीमानलाई माओवदीले गाउँमै मारे । उनको हत्याको पीडा बोकी रहँदा सेनाले छोरा बेपत्ता बनाएपछि विक्षिप्त मेघमाली आज पनि पीडा बोकेरै बाँचिरहेकी छिन् ।

‘छोरा आउला भन्ने आश छैन । सुरु सुरुमा त आश लाग्थ्यो अब त आशै मर्यो । श्रीमान् कांग्रेस भएका कारणले मारेका हुन् । बिचरा गोठालो जान्थे, घरगाउँ गर्थे । के बिगारेका थिए र माओवादीले मारे ? त्यस्ता सोझाले पनि जासुसी गर्छन्,’ एकै सासमा मेघमालीले गुनासो गरिन् ‘मरेको लास वरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस