सिंहदरबारको मूल भवनमा टेको लगाउन शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबारको मूल भवनमा टेको लगाउन शुरु


१४ भाद्र २०७४, बुधबार


काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको प्रवलीकरणका लागि टेको लगाउन (स्काफोल्डिङ) शुरु गरेको छ ।

प्राधिकरणले वर्षा लागेसँगै सिंहदरबारको मूल भवनलाई पानीबाट बचाउन प्लाष्टिकको ओत लगाएको थियो । सिंहदरबारलाई प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने निर्णय यसअघि नै भइसकेको छ । प्रवलीकरण गर्ने कामदार भित्र छिर्न सकियोस् भनी टेको लगाउन थालिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

भूकम्पपछि लामो समय सिंहदरबारलाई पुनःनिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्ने विवाद चलेको थियो । प्राधिकरण कार्यकारी समिति बैठकले अवलोकन गर्न सकिने तर कार्यालयका रुपमा प्रयोग नगर्ने गरी ऐतिहासिक भवनलाई सुरक्षित राख्न प्रवलीकरण गर्ने निर्णय गरेको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले वि.सं. १९६० मा निर्माण गरेको सिंहदरबार पछि सरकारले किनेको थियो । राणाकालमा ‘घरकाज अड्डा’ नामक संस्थाले यो दरबार बनाएको हो । वि.सं. २०३० मा आगलागी भएपछि सिंहदरबारको पश्चिमी भागबाहेक अरु सबै भाग पुनःनिर्माण गरिएको हो । प्रवलीकरण सकेपछि सिंहदरबारलाई अवलोकनका लागि खुला गरिनेछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस