काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले बेथितिको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वनयमा आलटाल गरेका छन्।
मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते गठन भएको छानबिन समितिले एक साता पहिले साझाका अध्यक्ष शर्मा तथा सञ्चालक बोर्डलाई हटाउनुपर्ने रिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो । प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेको मन्त्रालय स्रोतले जानकारी दियो । ‘मन्त्री आफैंले गठन गरेको छानबिन समितिले दिएको रिपोर्ट अनुसार शर्मालाई कारबाही गर्न उहाँले बेवास्ता गरिरहनुभएको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार केही दिनपहिले महाप्रबन्धक शर्माले पूर्वशिक्षामन्त्री चित्रलेखा यादवसहित मन्त्री श्रेष्ठलाई भेटेर कारबाही अघि नबढाउन आग्रह गरेका थिए । सोही कारण मन्त्री श्रेष्ठले साझाको अनियमिततामा मुछिएका शर्मामाथि कारबाही प्रक्रिया अघि बढाउन आलटान गरेका हुन् । पूर्वशिक्षामन्त्री यादवले नै शर्मालाई २०७१ माघ ५ मा साझाको महाप्रबन्धक नियुक्त गरेकी थिइन् । यादवमाथि ३० लाख रुपैयाँ लिएर शर्मालाई साझाको महाप्रबन्धक तथा अध्यक्ष नियुक्त गरेको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।







