काठमाडौं । गृह मन्त्रालयको कामै नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । मन्त्रालयको उद्देश्यविपरीत गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नै पदमा बहाल भएको दिनदेखि फर्जी नम्बर प्लेटको गाडी चढ्न थालेका छन् ।
श्रेष्ठले बा १ झ १००९ नं. को ल्यान्डक्रुजर प्राडो गाडी चढ्दै आएका छन् । यो गाडीको वास्तविक नं. बा ६ च १००९ हो । यो नम्बरको गाडी चमेलिया जलविद्युत आयोजनाको नाममा बागमती यातायात साना तथा ठूला सवारी कार्यालय, एकान्तकुनामा दर्ता छ ।
रातो–नीलो नम्बर प्लेटको बा १ झ १००९ नं. को गाडी आफ्नो विभाग मातहतमा दर्ता नै नरहेको जानकारी यातायात व्यवस्था विभाग र साना तथा ठूला सवारी कार्यालयका अधिकारीले दिए । ‘त्यो नं. को रातो–नीलो नम्बर प्लेटको गाडी यातायात कार्यालयमा दर्ता नै छैन’ यातायात कार्यालयका एक अधिकारीले भने ।
ती अधिकारीका अनुसार बा १ झ १००९ नम्बरको एउटा पुरानो गाडी छ हुलाक विभागको नाममा । ‘एउटै नम्बरका दुइटा गाडी दर्ता हुनै सक्दैनन्’ ती अधिकारीले भने । कानुन पालना गराउनु पर्ने र नक्कली गाडी नियन्त्रण गर्नुपर्ने गृह राज्यमन्त्री श्रेष्ठले फर्जी नम्बरको सवारीमात्र चढेका छैनन् कि उनी या उनको चालकले गाडी चलाएका बेला कसैलाई ठक्कर दिएमा, कुनै गैरकानुनी कार्य गरेमा हुलाक विभागमा दर्ता रहेको गाडीका चालक कानुनी फन्दामा पर्ने चिन्ता यातायात कार्यालयका अधिकारी व्यक्त गर्छन् ।
‘राज्यमन्त्रीको फर्जी नम्बरको गाडी कतै दर्ता छैन, यदि त्यसले ठक्कर दिएमा या अन्य गैरकानुनी कार्य गरेमा वास्तविक नम्बर प्लेटको हुलाक विभागको गाडीको चालक कानुनी फन्दामा पर्नेछन्’ यातायात कार्यालयका अधिकारीले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।







