११७ उपसचिवलाई स्थानीय विकास मन्त्रालयमा सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

११७ उपसचिवलाई स्थानीय विकास मन्त्रालयमा सरुवा


१३ भाद्र २०७४, मंगलबार


काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले सोमबार एकैपटक एक सय १७ उपसचिवको सरुवा गरेको छ । नगरपालिकामा रहेको रिक्त दरबन्दी पूर्ति गर्न मन्त्रालयले उनीहरूलाई स्थानीय विकास मन्त्रलाय सरुवा गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गत रहेका ती उपसचिवलाई स्थानीय विकास मन्त्रालयको मागअनुसार सरुवा गरेको जनाएको छ । कर्मचारी अभावमा स्थानीय विकास मन्त्रालयले उपसचिवको दरबन्दी रहेको नगरपालिकाको कार्यकारी अधिकृतमा शाखा अधिकृतलाई निमित्त दिँदै आएको थियो ।

यस्तै, मन्त्रालयले एक साताभित्र थप २८ अधिकृतलाई पनि स्थानीय तहमा सरुवा गर्ने जनाएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रालयले तत्काल मागेको उपसचिव तहको कर्मचारी पठाइसक्यौँ । अब २८ शाखा अधिकृत पनि पठाउने तयारी गर्दै छौँ ।’

स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले १ सय १७ जना उपसचिव पाएपछि सबै नगरपालिकाले दरबन्दीअनुसार कार्यकारी अधिकृत पाउने बताएका छन् । उनले अब एक हप्ताभित्र उपसचिवलाई नगरपालिकामा खटाउने र नगरपालिकामा निमित्त भएका अधिकृतलाई रिक्त रहेको गाउँपालिकामा कार्यकारी अधिकृत बनाएर पठाउने बताएका हुन् ।

सचिव थपलियाले भने, ‘औपचारिक रूपमा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा भएको जानकारी दिएको छैन । औपचारिक जानकारीपछि सबै स्थानीय तहमा कार्यकारी नियुक्त गर्न सुरु गछौँ ।’ यस्तै सामान्य प्रशासन मन्त्रालयले थप २८ जना शाखा अधिकृत पनि यसै साता खटाउँदै छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस