जहाज लिन निगमका २० कर्मचारी सिंगापुर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जहाज लिन निगमका २० कर्मचारी सिंगापुर


११ भाद्र २०७४, आइतबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एउटा ठूलो जहाज ‘हेर्न र लिन’ जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्मचारीलाई सिंगापुर पठाएको छ ।

‘जहाज थप्दै व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्दै रटान लगाउने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ती सबै कर्मचारीको भ्रमण बिदा स्वीकृत गरेका हुन् । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेका छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसाकारले भ्रमण बिदा स्वीकृत गरेका हुन्।

निगम उच्च स्रोतका अनुसार इन्जिनियरिङ, क्वालिटी एस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन्।

‘महाप्रबन्धक कंसाकारले स्वीकृति दिएपछि उनीहरूको सिंगापुर जाने बाटो खुलेको हो र यसका लागि व्यवस्थापनले २० लाख रुपैयाँ खर्च गरेको छ,’ निगम स्रोतले शनिबार नागरिकसँग भन्यो, ‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ‘ह्यांगर’ भित्र जानै पाउँदैनन्, लिएर आउनु त परकै कुरा भयो।’

स्रोतका अनुसार आफ्ना १८ कर्मचारीबाहेक उड्डयन प्राधिकरणका दुई उच्च अधिकारीको सम्पूर्ण खर्च र तिनलाई दैनिक भत्तासमेत निगमले नै बेहोरेको छ । सबैले ७ दिनको भ्रमण बिदा पाए पनि १० दिनसम्म सिंगापुर घुमेर आउनेछन् ।

‘प्रत्येकलाई दैनिक न्यूनतम १ सय अमेरिकी डलर ९१० हजार रुपैयाँ० भत्ता दिइएको छ,’ स्रोतले भन्यो, ‘निर्देशक तहकालाई सिंगापुर बसुन्जेल पाँचतारे होटलमा खान र बस्न निगमले बेहोरेको छ । सबैजनालाई काठमाडौंबाट मलेसियाको क्वालालम्पुर र त्यहाँबाट सिंगापुरको दुईतर्फी हवाई टिकट पनि निगमले नै उपलब्ध गराएको छ ।’ आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस