कागजमै सीमित विद्युत् आयोजना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कागजमै सीमित विद्युत् आयोजना


१० भाद्र २०७४, शनिबार


भोजपुर । टक्सारस्थित खोलामा २.५ मेगावाटको तल्लो पिखुवा जलविद्युत् आयोजना निर्माण सुरु भएको ७ वर्ष बित्यो । विद्युत् विकास विभागबाट ०६७ चैतमा इस्टर्न हाइड्रोपावर कम्पनीले उत्पादन अनुमति लिएको थियो । पूर्वी अरुण गाउँपालिका याकुका स्थानीय अम्बिका ढकाल उक्त आयोजना निर्माण समितिका अध्यक्ष थिए । कम्पनीभित्र लगानी विवादले केही समय निर्माण कार्यले गति लिएन । ढकालले समिति छाडे र उक्त आयोजनाकै तलतिर ८ मेगावाटको टक्सार पिखुवा हाइड्रोपावर दर्ता गरे ।

विद्युत् विकासले ०७६ मा सम्पन्न गर्ने गरी ०७३ असारबाट उत्पादन गर्ने अनुमति दिएको छ । अनुमति पाएको वर्ष दिन बिते पनि निर्माण थाल्ने सुरसार छैन । इस्टर्नले २.५ मेगावाटलाई गत वर्षदेखि ५.५ मा अपग्रेड गरेर काम थाले पनि सुस्त छ ।

आयोजना सम्पन्न गर्ने सम्झौताको मिति छोटिँदै गएको छ । अब चाँडै आयोजना निर्माण थाल्ने ढकालले जनाए । हालसम्म लगानीको जोहो नहुँदा समस्या भएको ढकाल बताउँछन् । यो जलविद्युत् १ अर्ब ६० करोड रुपैयाँको योजना हो । राष्ट्रिय वाणिज्य बैंकलगायतबाट ७० प्रतिशत रकमको सम्झौता भए पनि बाँकी ३० प्रतिशत प्रवद्र्धनात्मक सेयरबाट जुटाउनुपर्ने बाध्यता छ । प्रवद्र्धनात्मकको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीय र बाँकी २० प्रतिशत डेभलोपरले व्यवस्थापन गर्नुपर्छ । असोज मसान्तसम्ममा लगानी जुटाइसकेर संरचना निर्माणका काम थाल्ने ढकालले बताए । विद्युत् उत्पादन भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोड्नेबारे टुंगो नलागेका कारण ढिलाइ भएको उनले सुनाए । ‘हामीले त उत्पादन गरौंला तर भोजपुर सबस्टेसनमा जोड्ने या कोसी करिडोरमा जोड्ने निश्चित नभएकाले काम थाल्न अलमल भएको हो,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस