प्रहरीद्वारा १९ हजार दरबन्दी थप्न माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रहरीद्वारा १९ हजार दरबन्दी थप्न माग


१० भाद्र २०७४, शनिबार


काठमाडौं । प्रहरीलाई संघीय संरचनामा लैजानुअघि १९ हजार ३ सय ६१ दरबन्दी थप्नुपर्ने नेपाल प्रहरीले प्रस्ताव गरेको छ । संघीयतामा जाँदा धेरै प्रहरी चाहिने भएकाले नेपाल प्रहरीले संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी थपको प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए ।

कानुन बन्नुअघि नै नेपाल प्रहरी संघीय संरचनातर्फ गइसकेको छ । सरकारले प्रहरी नियमावली संशोधन गरी सातवटै प्रदेशमा एआइजीलाई खटाइसकेको छ । क्षेत्रीय प्रहरी कार्यालयकै स्वरूपमा संक्रमणकालीन अवस्थामा एआइजीलाई खटाइएको डिआइजी कार्कीले बताए । यस्तै, साबिकको अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइमा रूपान्तरण गरिएको छ । ‘अहिलेको संक्रमणकालीन अवस्थामा संघीय प्रहरी कार्यालयका प्रमुखले दुईजना एआइजीलाई रिपोर्टिङ गर्ने प्रावधान राखिएको छ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डिआइजी कार्कीले भने,‘संघीय प्रहरी ऐन जारी नहुँदासम्म पुरानै नियमावलीअनुसार उहाँहरूले काम गर्नुहुनेछ ।’ ३१ साउनको मन्त्रिपरिषद् निर्णयले प्रहरी नियमावली संशोधन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस