अदिती « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अदिती


१० भाद्र २०७४, शनिबार


मलाई बजार जानुपर्ने थियो । हतार हतार ब्रस गरें । चिया पिएँ र तयार भएँ । सँगै जाने भनिएकी साथी तनु राति बिरामी परिछ । झाडापखालाले लखतरान भएकी उसलाई लिएर जाने आँट गरिनँ । उसकै घरमा खाना खाएर म घर फर्कें । मेरो योजना पनि विफल भयो । कोठामा आराम गरिरहेकी थिएँ । गाडीको हर्न बजेको सुनें । गाउँमा यदाकदा कसैबाट ल्याइएका गाडी बाहेक अन्य गाडी हँुदैनथे । गाडीको छेउमा पुग्दा गाउँका केटाकेटीहरूले सानो सुजुकीलाई मुसारिरहेका थिए ।

मिनिस्कटमा छोटो टिसर्ट, टाउकामा कालो चस्मा, खुलेको कपाल, गलामा साङ्ले माला र पेन्सिल हिलमा सजिएकी एक नवयौवना बाहिर निस्किन् । मेरै घरतर्फ लम्किन् उनी । अदिती जस्तो लाग्यो । एकै छिन पर्खें । मेरो अनुमान सही थियो । ‘अदिती, म पुष्पा…।’ ऊ अगाडि बढी र अँगालो हाली । सबै केटाकेटीले हामीलाई हेरिरहेका थिए । हामी ‘हराएको मणि भेटाएको सर्प’ जस्तै भएका थियौँ । हामी दुई बालसखाको भेट नभएको धेरै भएको थियो । आमा, भाइ, बैनी, बुबा सबैसँग भेटघाट भयो । अतीतका कुरामा धेरै रमायौं हामी । चियापछि गाउँ घुम्न निस्कियौँ । हामी खेलेका भञ्जाङ्ग चौतारी उस्तै थिए । गाउँ, पाखा, पखेरामा कुनै परिवर्तन थिएन । खोलाको पानी हिजो जस्तै आज पनि बगिरहेको थियो । घामपानीमा आफन्तपन कायमै थियो । चराहरूको भाका फेरिएको थिएन । फेरिएको थियो त केवल समय, परिवेश अनि हाम्रो बालापन ।

हामी धेरै घुम्यौं । पुराना साथीहरूसँग भेट भयो । हामी खुसीले रमाइरहेका थियौं । दिन बितेको पत्तै भएन । घाम ओरालो लागिसकेका थिए । हाम्रो गफ अझै सकिएको थिएन ।

‘म अब फर्किनुपर्छ पुष्पा’ उसले एकाएक भनी ।

‘किन हतार ? आज त जसरी पनि बस्नुपर्छ । धेरैमा भेट भएका छौं ।’

‘म जानैपर्छ पुष्पा । फेरि आउँला नि ।’

‘मेरो…। ’

एकछिन अकमकाई । सायद ऊ केही भन्न चाहन्थी ।

केही नबोली आमासँग बिदा माग्न भान्सामा छिरी । आमाले मेरो बिहेको कुरा सुनाउनु भयो ।

अदिती मेरी बाल्यकालकी अति मिल्ने साथी थिई । हामी जहिले पनि सँगै हुन्थ्यौँ । हाम्रो पढाइसँगै थियो । हामीलाई देखेर बुबा आमाहरु पनि अचम्म मान्नुहुन्थ्यो । उमेर, उचाई, रूप र स्वभाव झण्डै समान थियो हाम्रो । असमान आर्थिक र सामाजिक सम्बन्धले हामीलाई छुट्याएको थियो । ‘गाउँलेको संगतले छोरी बिग्रिन्छे’ भनी उनलाई सहर पुर्याएका थिए रे उनका बुबा आमाले । उनीसँग छुट्टिँदाँको पीडा म अझै पनि सम्झन्छु । समय बितेको थाहै भएन ।

मेरो मगनी भइसकेको थियो । एक हप्ता मात्र बाँकी थियो । हामी बिहेको तयारीमा जुटिरहेका थियौँ । मागी बिहे भएकोले कताकता डरको अनुभव पनि भइरहेको थियो । नयाँ घर, नयाँ परिवेश र नयाँ संस्कारसँग समायोजन हुने कुरा चानेचुने थिएन । मन बलियो पारेर बसेकी थिएँ । योग्यता र क्षमताले मलाई समस्यासँग जुध्न सक्ने बनाएको थियो । मानसिक रूपमा बिहेका लागि तयार भइसकेकी थिएँ म ।

‘अदिती, मेरो बिहेको खबर पाएर पनि तिमी जान्छेऊ त ?’

कुनै जवाफ दिइन उसले । गाडीसम्म डोर्याउँदै लगी । मेरो प्रश्नको जवाफ खोजिरहेकी थिएँ । गाडीको झ्याल खोली र एउटा पोको थमाई ।

Tags :
प्रतिक्रिया दिनुहोस