डोरीमा झुण्ड्याएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डोरीमा झुण्ड्याएर प्रश्रव गराउन लागिएकी महिलाको ज्यान बच्यो


९ भाद्र २०७४, शुक्रबार


पाँचथर । पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ ।

स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उनी पनि त्यतैतिर गए ।

त्यहाँ उनले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले ‘यो के गरेको भनी सोध्दा’ त्यहाँ भएका महिलाले ‘यसलाई सुत्केरी गराउन लागेको’ भनेपछि सङ्ग्रौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानुपर्छ भनी तत्काल सवारीसाधन समेतको व्यवस्था गरी स्वयंले लिएर आएको उनले बताए ।

नियमित गर्भ जाँचसमेत गरेको बताउने लुवागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको बरु हामीले कतिवटा बच्चा जन्मायौँ ? भन्दै स्थानीयवासीले घरमै बच्चा जन्मिन्छ भनेको उनी सुनाउछिन् ।

उनी अस्पतालको श्ययामा आफ्नी छोरीका साथ छिन् । अहिले उनी भन्छिन्, “धन्य छ, लय काकाले मलाई बचाउनुभयो । अरूले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि आफूले डोरीमा झुण्डिएर बच्चा जन्माउन खोजेको लुवागुनले बताइन् ।

“मैले केहीबेर ढिला गरेर देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो”, सङ्ग्रौलाले भने, “हाम्रो समाजमा चेतनाको कमी त छँदै छ, तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन ।”

आर्थिकरुपमा समेत कमजोर र परिवारका अन्य सदस्यसमेत अपाङ्ग भएकी ती दलित महिलाका लागि सङ्ग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोगसमेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतबाट करिब १५ हजारभन्दा बढीको सहयोग भएको तारा स्वयंले बताइन् ।

महिलाको शारीरिक अवस्थाको कारण पनि शल्यक्रिया गर्नु परेको भए पनि अहिले उनको र बच्चाको अवस्था सामान्य भएको डा. पवनकुमार साहले वताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस