तेस्रो चरणको निर्वाचन : कस्तो छ दलहरूको तयारी ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तेस्रो चरणको निर्वाचन : कस्तो छ दलहरूको तयारी ?


९ भाद्र २०७४, शुक्रबार


काठमाडौं । साउनभित्रै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने दाबी गरे पनि कांग्रेसले प्रदेश नम्बर २ मा अझै उम्मेदवार चयन गर्न सकेको छैन । पहिलो र दोस्रो चरणको निर्वाचनमा बेहोरेको हारबारे समीक्षा गर्दै कांग्रेसले तेस्रो चरणको निर्वाचनका लागि साउनभित्रै उम्मेदवार टुंग्याउने बताउँदै आएको थियो । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पाँचदिने भारत भ्रमणमा रहेका वेला दोस्रो तहका नेताहरू दिनहुँ उम्मेदवारको टुंगो लगाउन बसे पनि निष्कर्षमा पुगेका छैनन् । सभापति भारतबाट फर्किएपछि मात्रै कांग्रेसले उम्मेदवार टुंगो लगाउने संकेत दिएको छ ।

एमालेले प्रदेश नं. २ का दुईतिहाइ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । वैकल्पिक पोलिटब्युरो सदस्य शत्रुधन महतोका अनुसार २ असोजमा हुने स्थानीय निर्वाचनका लागि धनुषाबाहेक सात जिल्लामा पार्टीले उम्मेदवार टुंग्याएको छ । स्थायी समितिको निर्देशनअनुसार बाँकी उम्मेदवार १२ गतेभित्र प्रदेश संगठन कमिटीको बैठकबाट टुंगो लगाइने महतोले बताए । ‘अहिलेसम्म ८० भन्दा बढी स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको छ, बाँकी उम्मेदवार पनि निर्देशनअनुसार १२ गतेभित्र टुंग्याइसक्छौँ,’ उनले भने ।

माओवादी केन्द्रले प्रदेश नम्बर २ का स्थानीय तहका उम्मेदवार अर्को हप्तासम्म टुंग्याउने भएको छ । उम्मेदवार चयन गरेर मैदानमा होमिने माओवादी केन्द्र प्रदेश नम्बर २ का इन्चार्ज मात्रिका यादवले बताए । ‘प्रदेश नम्बर २ का १ सय ३६ तहमध्ये करिब ६० प्रतिशत उम्मेदवारको टुंगो लागिसकेको छ,’ यादवले भने, ‘अब ४० प्रतिशत उम्मेदवारको टुंगो लगाउन बाँकी छ, अर्को हप्ताभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्छौँ ।’

राजपाको केन्द्रीय नीति एक्लै निर्वाचन लड्ने भन्ने छ । तर, स्थानीय पार्टीको अनुकूलताका आधारमा कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँग तालमेल गर्न सक्नेछ । सुरुमा फोरम र लोकतान्त्रिक फोरमसँग तालमेल नगर्ने बताएको राजपाले स्थानीय नेताहरूको ब्रिफिङपछि उनीहरूसँग पनि तालमेल गर्ने रणनीति बनाएको हो । सप्तरीमा यी दुई पार्टीसँग तालमेल गर्नेबारे राजपाका स्थानीय नेताहरूबीच छलफल पनि सुरु भइसकेको छ । नयाँ पत्रिका दैनिकमा खवर छ ।

 

प्रतिक्रिया दिनुहोस