बाढी प्रभावित क्षेत्रमा हैजाको खतरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाढी प्रभावित क्षेत्रमा हैजाको खतरा


३२ श्रावण २०७४, बुधबार


इटहरी । अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । ती क्षेत्रमा ठूलो संख्यामा पशुपक्षीसमेत मरेकाले घाम लाग्नासाथ बूढीखोला क्षेत्रमा ब्यापकरुपमा दुगन्ध फैलिएको छ ।

त्यो क्षेत्रमा उद्धार र मानवीय सेवाका लागि त्यहाँ पुगेका सेवाग्राहीमा समेत हैजाको त्रास देखिएको छ । सबैभन्दा बढी नोक्सानी भएको इटहरीको यो क्षेत्रमा नेपाली सेना सशस्त्र प्रहरी र जनपथ प्रहरीसँगै विभिन्न राजनीतिक दल सामाजिक सङ्गघ संस्थालगायतले पुरिएका र भत्किँएका घरको उत्खनन गर्ने कार्यमा संलग्न मानिसमा पनि हैजाको संक्रमण फैलन सक्ने अवस्था रहेको छ ।

इटहरीको बूढीखोला किनारमा मात्र झण्डै दुई हजार मानिस विस्थापित भएका र ती सबै अहिले इटहरी उपमहानगरपालिका क्षेत्रका मन्दिर, विद्यालय एवं अन्य स्थानमा आपत्कालीन शरणमा बसेका पीडितमा स्वास्थ्य समस्या देखिएको छ । त्यहाँ अत्यावश्यक औषधि आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

बूढीखोला पूर्व र पश्चिमपट्टिको मानव बस्तीमा बाढीमा परेर कति चौपाया बगेर बेपत्ता भए वा पुरिए भन्ने अझै पनि तथ्यांक सार्वजनिक भएको छैन । ती बस्तीका घरपालुवा गाईभैँसी बाख्रा सुगुरसमेत धेरै बाढीको लेदोमा पुरिएको तथा बाढीमा परेर बेपत्ता भएका मानिसको समेत शव फेला नपरेकाले त्यो क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

बाढीबाट विस्थापित परिवारका घर तत्काल बसोवास गर्नसक्ने अवस्थामा नरहेकाले तिनको मर्मत र पुनःनिर्माण गर्ने कार्यमा करोडौँ लाग्नसक्ने अनुमान गरिएको छ ।

बाढीग्रस्त क्षेत्रमा पिउने पानी व्यवस्थापन वा सहयोग गरिदिन बाढी प्रभावितले आग्रह गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस