प्रादेशिक शिक्षा पुरस्कार भट्ट र सिंहलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रादेशिक शिक्षा पुरस्कार भट्ट र सिंहलाई


३१ श्रावण २०७४, मंगलबार


धनगढी । नेपाल सरकार शिक्षा विभाग र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा प्रदान गर्ने ‘प्रादेशिक शिक्षा पुरस्कार २०७३’ प्रदेश नम्बर सातबाट कैलालीका पत्रकार तेजराज भट्ट र डोटीका पत्रकार डिलबहादुर सिंहलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनौट समितिले ३० हजार रुपैया राशीको प्रादेशिक शिक्षा पुरस्कार प्रदेश नम्बर सातबाट पश्चिम टुडे दैनिकका कार्यकारी सम्पादक एवं नयाँ पत्रिका दैनिकका संवाददाता भट्ट र गोरखापत्र दैनिकका संवाददाता सिंहलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय मंगलबार गरेको हो ।

पत्रकारितामार्फत शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै हरेक वर्ष शिक्षा पुरस्कार प्रदान गरिदै आएको छ । यसअघि क्षेत्रगत रुपमा दिइदै आएकोमा नयाँ संरचनासंगै प्रादेशिक रुपमा प्रदान गर्ने निर्णय भएको हो । बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानि ८ प्रदेशलाई प्रादेशिक शिक्षा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रत्येक प्रदेशबाट २ जना पत्रकारलाई प्रदान गरिने २० हजार रुपैया राशीको ‘शिक्षा लेखनवृत्ति–२०७३’ प्रदेश नम्बर ७ बाट नरी बडु (बैतडी) र दुर्गा देवकोटा (सामुदायिक रेडियो–कैलाली) लाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै बाजुराको रेडियो बाजुरा र कञ्चनपुरको रेडियो महाकालीले उपत्यकासहित ८ प्रदेशका एफएम रेडियोलाई प्रदान गरिने संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । बैठकले राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका माधव अर्याल र अन्नपूर्ण पोष्ट दैनिकका सुरेन्द्र काफ्लेलाई दिने निर्णय गरेको छ ।

महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस