पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध


३० श्रावण २०७४, सोमबार


नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गए रातिदेखि पुनः अवरुद्ध भएको छ । दाउन्ने सडकखण्डको बीच भागमा मालवाहक ट्रक फसेका कारण सवारी आवागमन ठप्प भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

गए रातिबाट अवरुद्ध सडक बिहानबाट ट्रक पन्छाउने काम भइरहेको छ । हिलाम्य सडक भएका कारण समस्या भएको छ । प्रजिअ मगरले भने, “यद्यपि ट्रक पन्छाएर अवरुद्ध सडक सञ्चालन गर्ने तयारी छौँ ।”

शुक्रबार रातिदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आइतबार दिउँसो १ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आए पनि गए राति ९ बजेबाट सडकमा ट्रक फसेका कारण पुनः अवरुद्ध बनेको हो ।

दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररूपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि लगातार तिन दिन सम्म सडक अवरुद्ध बनेको थियो । भासिएको सडकमा तत्कालका लागि मर्मत सम्भार गरिएको छ । अझै पनि सामान्य वर्षा भइरहेका कारण दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै भएकाले वर्षा रोकियो र पहिरो नखसे बल्ल सहज रुपमा सडक सञ्चालन हुने अवस्था देखिन्छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस