दुई दशकदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने उपाध्याय सरलाई झड्का लाग्यो आज । कार्यालय सकेर घर पुग्दा सधैं हँसमुख रहने आफ्नी अधाङ्गिनी बहुत चिन्तित देखिन्थिन् ।
केही त भन, के भयो ? सोधे उनले श्रीमतीको चिउँडो आफूतिर सोझ्याउँदै ।
के हुनु, चौपट भयो नि ! सन्तोषे मोरोले…….! बल्लतल्ल घुँक्घुँक् गर्दै वाक्य पूरा गरिन् उनले । भरखरै प्लस टु सकेको २२ वर्षे छोरोले त बिहे गरिदेऊ पो भनेछ ।
अनि जात के छ त ?
नेपाली रे तेस्का बाजे !
उपाध्याय सर छाँगाबाट खसेजस्तो भए । तुरुन्तै छोरालाई कोठामा बोलाए ।
ऐ, तैले कुरो था पाईँ । तलाई आफ्नो परिवार कुल–खान्दानको मतलब छैन ? बूढी हजुरआमालाई कति चोट पर्छ, सम्झेको छस् ?
हाम्रा कान्छा हजुरबाले पनि त पहाडको घरमा छँदा घर्तिनीसँग म्यारिज गर्या रे । अनि मैले………?
हेरहेर गतिछाडा !
नेपालले नेपालीसँग बिहे गर्नु नहुने ! ह्या ड्याड् ! क्या नन्सेन्स् कस्टम हाम्रो ! छोरो च्याँठ्ठिँदै बाहिर निस्क्यो ।
उपाध्याय दम्पति किंकर्तव्यविमुढ भए ।
यसैबीचमा उपाध्याय सरकी वृद्ध आमा बाथरुमबाट निस्कनु भयो । उहाँले नाति र छोरा–बुहारीकाबीच भएको सम्बाद सुन्नुभएको रहेछ । भन्नुभयो– ‘के गर्छौ त बाबै हो उल्ले मन पराइहालेछ, आफ्नु आफ्नु भाग्यले खाने हो ! बिहे गर्दिन्चौ त ?’
आमाको कुरा सुनेर उपाध्यायजी चकित परे । गाला राता देखिए । निधारमा मुजा थपिए । उनले आमातिर फर्किएर अस्वभाविक लवजमा भने– ‘परिवारको मात्रै कुरा हो र आमा, समाजको पनि त मुख हेर्नु र्पयो नि !’