संविधान कार्यान्वयनलाई पूर्णता दिन देश निर्वाचनमय : नेता खनाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संविधान कार्यान्वयनलाई पूर्णता दिन देश निर्वाचनमय : नेता खनाल


२४ श्रावण २०७४, मंगलबार


इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताएका छन् ।

उनले मुलुक अहिले निर्वाचन वर्षका रूपमा अघि बढिरहेको बताए । इलामको कोल्बुङमा सोमबार आयोजित कार्यक्रममा उनले कार्यकर्तामाझ संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन नै स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न हुन गइरहेको बताए ।

“स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो भएको छ, अब तेस्रो चरणमा पनि एमाले पहिलो हुन्छ”, नेता खनालले भने ।

प्रदेश नं. २ मा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको बताउँदै खनालले भने, “त्यहाँ पनि एमाले पहिलो पार्टी बन्नेछ, अब एमालेको विजय यात्रालाई कसैले छेकेर छेक्न सक्दैन ।”

सरकारले प्रदेश र संघको निर्वाचन मिति तोक्न ढिलाइ गरेकामा आफ्नो पार्टीको आपत्ति रहेको विचार उनले व्यक्त गरे । निर्वाचन हुन नदिन विभिन्न षडयन्त्र भइरहेको बताउँदै उनले त्यस्तो षडयन्त्र परास्त गरेरै छाड्ने दाबीसमेत गरे ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्दै पर्यटनका सम्भावनायुक्त जिल्ला भएकाले इलाममा विकास निर्माणमा तीव्रता दिनुपर्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस