राप्रपा विभाजन, पशुपति शमशेर राणाको अध्यक्षतामा राप्रपा प्रजातान्त्रिक गठन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राप्रपा विभाजन, पशुपति शमशेर राणाको अध्यक्षतामा राप्रपा प्रजातान्त्रिक गठन


२२ श्रावण २०७४, आइतबार


काठमाडौँ । ६ महिना अगाडि मात्र एकता भएको कमल थापा नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । राप्रपाका वरिष्ठ नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आज प्रक्रिया शुरु भएको नवगठित पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टी अध्यक्ष कमल थापाले एक पक्षीय रूपमा निर्णय गर्ने गरेको, पार्टीको मूल सिद्धान्तका रूपमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबाट संस्थापन पक्ष विचलित भएको, पार्टीमा कार्यकर्ताको उचित मूल्याङ्कन हुन नसकेकोलगायत आरोप लगाइएको छ ।

पछिल्लोपटक अध्यक्ष थापाले ४२ केन्द्रीय सदस्य मनोनयन गरी निरङ्कुश चरित्र प्रदर्शन गरेको भन्दै वरिष्ठ नेता राणा असन्तुष्ट बनेका थिए । उनी केही साताअगाडि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा समेत अनुपस्थित भएका थिए ।

बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले तत्कालीन राप्रपा नेपाल राप्रपासँग गत मङ्सिर ६ गते एकीकरण भई फागुन ६ मा एकता अधिवेशन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस