भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान


१५ श्रावण २०७४, आइतबार


काठमाडौं । नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ ।

आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा संघका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डलाई सम्मान गर्नुभएको हो । भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्र बहादुर चन्द लगायतका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व काल भलिबल खेलका लागि स्वर्णीम् काल भएको भन्दै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने बताए ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताउँदै त्यतिले मात्र राज्यको जिम्मेवारी पुरा नहुने बताए । अध्यक्ष प्रचण्डले भने, ‘नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न सकेन । त्यसको बिकल्प के हुन सक्ला भन्ने विचार गरेर नै हामीले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेका हौं । भलिबल नेपालको माटो, हावापानी सुहाउँदो र सानो ठाउँमा पनि खेल सकिने लोकप्रिय खेल हो । हामीले राष्ट्रिय खेल त घोषणा गर्यौं । तर, यतिले मात्र राज्यको जिम्मेवारी पुरा हुँदैन । भलिबललाई राष्ट्रिय खेलको रुपमा स्थापित गर्न राज्यले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता, खेलाडीहरुको विकास र पूर्वाधार निर्माणमा विशेष ध्यान दिन जरुरी छ ।’

भेटमा संघका पदाधिकारीहरुले सम्मान पत्रद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान गरेका थिए । सो अवसरमा पूर्व खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस