लमजुङका दूधपोखरीमा तीर्थालुको भिड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लमजुङका दूधपोखरीमा तीर्थालुको भिड


१३ श्रावण २०७४, शुक्रबार


लमजुङ । लमजुङको दुई स्थानमा रहेका दूधपोखरी कुण्डमा तीर्थालु भक्तजनको भिड लागेको छ । पूर्वी लमजुङको दूधपोखरी गाउँपालिकामा रहेको दूधपोखरी कुण्ड र लमजुङ, मनाङ र कास्कीको सिमानामा पर्ने दूधपोखरीमा तीर्थालुको भिड लागेको छ ।

ऐतिहासिक एवं धार्मिक पर्यटकीय स्थल दुबै स्थानमा रहेका दूधपोखरीमा वर्षेनी जनैपूर्णीमाको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । लमजुङ सदरमुकाम बँेसीसहरबाट करिब तीन दिनमा पुग्न सकिने यी दूधपोखरी कुण्डमा मेला भर्नका लागि हजारौँ श्रद्धालु भक्तजन त्यहाँ पुगेका हुन् ।

तीन जिल्लाको सिमानामा रहेको दूधपोखरीमा बेँसीसहरबाट पर्यटकीय गाउँ सिउरुङ, घनपोखरा, भुजुङ, पसगाउँबाट छुट्टाछुट्टै बाटो भएर तीन दिनको यात्रामा तीर्थालु पुगेका छन् ।

यसैगरी मनाङको दूधखोला, डाँफेओडार हुँदै पनि तीर्थालु दूधपोखरी पुगेको बताइएको छ । कास्कीको ताङतिङ् र सिक्लेस हुँदै पनि दूधपोखरी तीर्थालु मेला भनै दूधपोखरी पुगेका छन् । त्यहाँ, लमजुङ, कास्की, मनाङ, तनहुँका साथै अन्य जिल्लाका भक्तजन पनि पुग्ने गर्दछन् ।

एक दिनको यात्रामा गाउँ भेटिने भए पनि दोस्रो र तेस्रो दिनको यात्रामा गाउँहरु नभेटिने हुँदा पर्यटक तथा तीर्थयात्री बाटोमा नै पाल टाँगेर तथा ओडारमा बस्ने गर्दछन् । दूधपोखरीमा भने पर्यटक तथा तीर्थयात्रीलाई बस्नका लागि तीनवटा धर्मशाला बनाइएको छ ।

यसैगरी पूर्वी लमजुङको दूघपोखरी गाउँपालिकामा रहेको दूधपोखरी कुण्डमा पनि तीर्थालु भक्तजन उत्तिकै मात्रामा पुगेका छन् । लमजुङ, गोरखा, तनहुँ, कास्कीलगायतका जिल्लाका भक्तजन दूधपोखरीमा पुगेका छन् ।

दूधपोखरी एक ऐतिहासिक स्थल पनि हो । नेपाल एकीकरण अघि लमजुङका राजा यशोब्रम्ह शाहका छोरा नरहरि शाह लमजुङका राजा भएका थिए भने उनकै भाइ द्रब्य शाह लिगलिगका राजा भएका थिए । दुई भाइबीच झगडा भए पनि दुबै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ ।

दूधपोखरीमा नुहाउनाले मनको आकांक्षा पूरा हुने र पवित्र हुने विश्वास गरिन्छ । दूधपोखरी नजिकै अर्को पोखरी पनि छ । बेला बेलामा रुप फेरेर कालो, निलो, हरियो देखिने उक्त पोखरीलाई कालोपोखरी पनि भनिन्छ । कालोपोखरी हेरेमा मनले चिताएको नपुग्ने जनविश्वासका छ । यसैकारण सो पोखरी नदेखिने गरी तीर्थयात्री फर्कने गर्दछन् ।

त्यसो त दूधपोखरीमा नुहाउँदा महत्वपूर्ण केही सामान छोडिएको भएमा पनि लिन जान नहुने जनविश्वास छ । सामान लिन फर्किएमा पनि चिताएको तथा पोखरीमा कामना गरेको मनोकामना पूरा नहुने जनविश्वास रहेको छ ।

यसैगरी लमजुङको उच्च पहाडी भेगमा रहेका बराहपोखरी, मेमेपोखरीमा पनि जनैपूर्णिमाको अवसर पारेर मेला लाग्ने गर्दछ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस