बोइङ खरिदका लागि सात कम्पनीको आवेदन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बोइङ खरिदका लागि सात कम्पनीको आवेदन


१३ श्रावण २०७४, शुक्रबार


काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको बोइङ ७५७–२०० विमान खरिदका लागि सात वटा कम्पनीले आवेदन दिएका छन् ।

बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रो पटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन् ।

निगमको विमान लिलाम बिक्रीका लागि तेस्रो पटक गत साउन ५ गते एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

लामो समयसम्म कुनै आवेदन नपरेपछि निगमले यो पटक विमान कम्पनीबाहेक एजेण्ट कम्पनीले पनि आवेदन दिनसक्ने भनेर सूचना जारी गरेअनुरुप सात कम्पनीले आवेदन दिएको निगमले जनाएको छ ।

कम्पनीले निगमलाई सम्पर्क गर्ने म्याद आज सकिएको र आवेदन दिएका सात कम्पनीमध्ये एक कम्पनी छिट्टै छनोट हुने निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

“आवेदन दिएका कम्पनीमध्ये एक/दुई दिनभित्रै छनोट गरी लिलाम प्रक्रिया अघि बढाइनेछ”– उनले भने । निगमका अनुसार आवेदन दिने सातमध्ये दुई अन्तर्राष्ट्रिय कम्पनी छन् । आवेदन दिने अन्तर्राष्ट्रिय कम्पनी अमेरिकाको फ्लोरिडास्थित एभिएसन सिस्टम इकर्पोरेसन र इजरायलको एपिएस एअरपार्टस सर्भिसेज एण्ड सप्लाइज छन् ।

स्वदेशी कम्पनी तथा व्यक्तिमा हिमालय एभिएसन कन्सल्ट्यान्ट तिलगंगा, टिबीआइए ग्रुप नेपाल गैह्रीधारा, जनार्दनमान डंगोल सानेपा, बिबी एयरवेज नागपोखरी र अनु मानन्धर नयाँ बानेश्वर रहेका छन् । उक्त बोइङ दुई वर्षदेखि ग्राउण्डेड थियो । सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको यो विमान अहिलेसम्म ८६ हजार ४१० घण्टा उडेको छ ।

निगमको अर्को बोइङ कलसाइन ९ एनएसिबी मर्मतका लागि दुई साताअघि सिंगापुर लगिएको थियो । अब, निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयरबस ए ३२० छन् । निगमले आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस