अकबरे खुर्सानीबाट तीन लाख आम्दानी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अकबरे खुर्सानीबाट तीन लाख आम्दानी


१२ श्रावण २०७४, बिहिबार


पाँचथर । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उनले अकबरे खुर्सानी रोप्न थाले ।

अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक तीन लाखसम्म आम्दानी गर्दै आएका छन् । उत्पादन भएको खुर्सानी राँके र घुर्विसे बजारमा बिक्री गर्छन् । उनको खुर्सानी बिक्रीका लागि झापा, सुनसरी तथा काठमाडौँसम्म पुग्छ ।

अकबरे खुर्सानीसँगै नेम्बाङले व्यावसायिक रुपमा सुन्तला र अलैँची खेती समेत गर्दैआएका छन् । अलैँची खेतीबाट उनले वार्षिक पाँच लाखसम्म तथा सुन्तला खेतीबाट वार्षिक एक लाखसम्म आम्दानी गर्दै आएका छन् । नेम्बाङ राष्ट्रपति कृषक पुरस्कार २०७२ बाट समेत सम्मानित भइसकेका छन् ।

“जोश, जाँगर र हिम्मत गरे पैसा कमाउन विदेश गइरहनु पर्दैन,” उनले भने । गाउँमै २० रोपनी जग्गा किनेर अहिले उनी व्यावसायिक रुपमा अकबरे खेती र अलैँची खेती गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस