काबुलमा आत्मघाती आक्रमण, २४ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काबुलमा आत्मघाती आक्रमण, २४ को मृत्यु


९ श्रावण २०७४, सोमबार


काबुल । पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम विस्फोटमा परी २४ व्यक्तिको ज्यान गएको समाचार छ ।

सरकारी कर्मचारी बोकेको एक बसलाई लक्ष्य गरी गरिएको यस आक्रमणमा परी २४ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४२ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अफगानिस्तानको राजधानीमा भएको यो पछिल्लो हिंसात्मक आक्रमण भएको बताइएको छ । सरकारी कर्मचारी लक्ष्य गरी गरिएको सो आत्मघाती कारबम आक्रमण पछिल्लो र शक्तिशाली भएको प्रहरीले जनाएको छ ।

बिहानको व्यस्त समयमा सरकारी कर्मचारी बोकेको सो बसलाई कारबम विस्फोटमा पारिएको गृह मन्त्रालयका प्रवक्ता नजिब दानिसले एएफपी समाचार समितिलाई जानकारी दिए ।

यस कारबम आत्मघाती आक्रमणमा परी मारिएका र घाइते अधिकांश सर्वसाधारण र केही कर्मचारी पनि रहेका प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार सोमाबार बिहान ७ बजे भएको यस आत्मघाती आक्रमणको तालिवान आतंककारी समूहले जिम्मा लिएको छ ।

आज भएको यो आक्रमण प्रख्यात राजनीतिज्ञ तथा पूर्व सेनापति मोहमद मोहकेकको भवन नजिकै भएको थियो । सोमबार बिहान सबेरै भएको यस आक्रमणमा शुरुमा १२ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १० घाइते भएका गृहमन्त्रालय स्रोतले जानकारी दिएको थियो ।

पछि सो संख्या बढेर २४ पुगेको र घाइते पनि ४२ जना पुगेको सो मन्त्रालयले जनाएको छ । सन् २०१७ को शुरुबाट छ महिनाभित्र अफगानिस्तानमा भएका हत्या हिंसामा नागरिक मारिने क्रम निकै बढेको बताइएको छ ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनले हालै तयार गरेको एक प्रतिवेदनअनुसार २०१७ मा अफगानिस्तानमा द्वन्द्वमा परी एक हजार ६६२ सर्वसाधारणको मृत्यु भएको छ ।

यसरी मारिनेमा प्रायः सर्वसाधारण नै रहेका हुन्छन् । सरकार विरोधी बललगायत आतंककारी समूह तालिवान र इस्लामिक स्टेट्सले जारी राखेको आक्रमणमा उनीहरु मारिएका हुन् ।

काबुलमा हुने गरेका यस्ता आक्रमणमा यस समयावधिमा प्रायः सर्वसाधारण नै मारिएका छन् । गत मे महिनामा काबुलमा भएको ट्रक आक्रमणमा १५० भन्दा बढी व्यक्ति मारिनुका साथै सयौँ घाइते भएका थिए । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस