जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार


९ श्रावण २०७४, सोमबार


बागलुङ । जिल्लाको बढीगाड गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । प्रजिअ तिवारीका अनुसार सम्भवत घाइतेको उपचार ‘ट्रमा सेन्टर’ मा हुनेछ ।

उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाएका गम्भीर घाइतेहरुमा बढीगाड गाउँपालिका–८ का भीमबहादुर सेरबुजा, टेकबहादुर पाइजा, दीपशिखा पाइजा, बालमति पाइजा, दिनेश पाइजा र भीमबहादुर सेरबुजा रहेका छन् ।

घाइतेको तत्काल उद्धार र उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत हेलिकप्टर ल्याउन पहल गरेको थियो ।

जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध १ ज १८४ नम्बरको जिप बादीप भन्ने ठाउँमा सोमबार बिहान दुर्घटना हुँदा चालक बढीगाड गाउँपालिका–४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं. ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं. ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको घटनास्थलमै मृत्यु भएको थियो ।

साँघुरा घुम्ती र हिलोका कारण चिप्लिएर सडकदेखि करिब सात मिटर तल खसेर जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

दुर्घटनाबारे अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले बताए । रासस

प्रतिक्रिया दिनुहोस