उनीहरूपुर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उनीहरूपुर


७ श्रावण २०७४, शनिबार


उनीहरूसंग छ
अर्का उनीहरूको रिमोट कन्ट्रोल
र उनीहरू–१ ले
उनीहरू–२ को जिब्रो थुतेर
स्पिकर जोडेका छन्
मष्तिष्क झिकेर
प्रोसेसर जडान गरिदिएका छन्
त्यसैले
इतिहास मै
शान्त बनेको छ
उनीहरूपुर अचेल ।

यहाँ विमतिहरूको
सिद्घिएको छ संभावना
विचारहरू प्रयोगशालामा परीक्षण गरेर मात्र
छोडिनेछन् खुला सडकमा
उनीहरू–१ ले
उनीहरू–२ को आत्मा
जिन्न झैं बोतलमा थुनेका छन् र
सौहार्द्रपूर्ण बनेको छ
उनीहरूपुर अचेल ।

उनीहरूपुरका प्रयोशालाहरू भित्र
अहोरात्र, अनवरत प्रयोगरत छन्
वैज्ञानिकहरू
उनीहरू माझका उनीहरूले
बोल्न जिब्रो चलाउनु पर्ने छैन
सोच्न मष्तिष्क चलाउनु पर्ने छैन
अब उनीहरू–१ ले बोल्न लगाए बोल्नेछन्
र सोच्न लगाए सोच्नेछन्
उनीहरू–२
शान्त र सौहाद्र्रपूर्ण उनीहरूपुरमा
टेलिभिजनको पर्दामा किन्न पाइने छ मुस्कान ।

Tags :
प्रतिक्रिया दिनुहोस