दुर्घटनामा तीनको मृत्यु, १० घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुर्घटनामा तीनको मृत्यु, १० घाइते


५ श्रावण २०७४, बिहिबार


धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ५ स्थित विशालटारमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख २२९३ नं.को यात्रुवाहक बस सडकबाट २० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका वडा नं. ६ का कमल ढुंगाना र सोही स्थान बस्ने सहचालक नवराज शिवाकोटी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पतालमा पठाइएको छ । घाइते सबै स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

यसैगरी चितवनबाट काठमाडौँ जाँदै गरेको बा१५च ४५२६ नं.को स्कारपियो गजुरी गाउँपालिका वडा नं. १ गलौदीस्थित सडकमा पल्टिँदा विष्णुकुमारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

स्कारपियामा कपिलवस्तु जिल्ला महाराजगन्ज नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद शर्मा र उनकी श्रीमती विष्णुकुमारी शर्मासहित सवार थिए । विष्णुकुमारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा उनका छोरा शशांक शर्मा घाइते भएका छन् । गजुरी अस्पतालमा उनको उपचार भइरहेको छ । दुर्घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया दिनुहोस