किशोरी शिक्षाका कारण जीवन नै परिवर्तन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

किशोरी शिक्षाका कारण जीवन नै परिवर्तन


५ श्रावण २०७४, बिहिबार


महोत्तरी । शिक्षा विभागका निर्देशक मित्रनाथ गर्तौलाले विद्यालयको पहुँचबाट टाढा रहेको महोत्तरीको विकट क्षेत्रका विपन्न समुदायका किशोरी एवं आमालाई शिक्षित बनाउने काम सराहनीय रहेको बताएका छन् ।

मुस्लिम बाहुल्य रहेको महोत्तरीको पर्सादेवाडमा हालै पुगेका निर्देशक गर्तौलाले बाहिर रहेका बालबालिकालाई बिद्यालयसम्मको पहुँचका लागि किशोरी शिक्षामार्फत सहयोग पुर्याएकोमा खुशी व्यक्त गरे ।

किशोरी शिक्षाका कारण आफूहरुको जीवन नै परिवर्तनको पथमा लम्किएको भन्दै महोत्तरी सम्सी गाउँपालिका पर्सा देवाडकी १३ वर्षीया सविना खातुन हर्षित भएकी छिन् । किशोरी शिक्षा कार्यक्रमको प्रभावले जीवन नै शिक्षाको ज्योतितर्फ बढेको खातुनले बताइन् ।

गाउँमै सञ्चालित किशोरी शिक्षा कक्षामा नौ महिना अध्ययन गरी राष्ट्रिय माविमा कक्षा २ मा भर्ना भएकी अर्की १३ वर्षीया युवती गजला प्रविणाको पनि यस्तै कथन छ । अक्षरसँग कहिल्यै भेट नभए पनि नौ महिनासम्म आमा कक्षामा पढेकी स्थानीय ३५ वर्षीया रजिया खातुन अब सजिलै चिठीपत्र पढ्नका साथै हरहिसाब गर्नसमेत सफल भएकी छिन् ।

आधा जीवन घाँसपात, दाउरा र घरगृहस्थी तथा बालबच्चा सम्हाल्नमै सीमित भएकी चार बच्चाकी आमा खातुनले गाँउमै सञ्चालित आमा शिक्षा ग्रहण गरी बालबच्चालाई समयमै विद्यालय पढाउँदैछिन् भने घरआँगन सरसफाइमा विशेष ध्यान दिँदै आएकी छिन् । अब सन्तानलाई कुनै पनि हालतमा बालविवाह नगर्ने र समाजमा कदापि हुन नदिने खातुनले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

निर्देशक गर्लौलासहितका सरोकारवालालाई पर्सादेवाडकी किशोरीले सुविधाविहीन माविमा ध्यान पुर्याउन आग्रह गरिन् । पर्सा माविमा फर्निचर तथा कक्षा कोठाको निकै अभाव छ ।

विश्व शिक्षा संस्थाको सहयोगमा गत वर्ष सञ्चालित किशोरी शिक्षाका बालिका अहिले विद्यालय गइरहेका छन् । समाज विकास केन्द्रका अध्यक्ष नइम अन्सारीले यस वर्ष मुस्लिम र दलित समुदायका ३०४ बालिकालाई जिल्लाका सातवटा विद्यालयमा भर्ना गराउन सफल भएको बताए ।

महोत्तरी आएका निर्देशक गर्तौलाले बर्दिवासमा आयोजित सात दिने किशोरी शिक्षा सहजकर्ता आधारभूत तालीमको उद्घाटनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस