राप्रपाले निर्देशक समिति गठन गर्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राप्रपाले निर्देशक समिति गठन गर्ने


३ श्रावण २०७४, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको एकता महाधिवेशन सम्पन्न भएको चार महिनापछि निर्देशक समिति गठन गर्ने भएको छ ।

पार्टीभित्र केन्द्रीय नेतृत्वलाई नियमन तथा सुझाव दिने उद्देश्यले तत्कालीन राप्रपा र राप्रपा नेपालको एकीकरणका समयमा सो समिति गठन गर्नका लागि विधानमा व्यवस्था गरिएको थियो ।

एकीकरणलगत्तै सो समिति गठन गरी वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीलाई संयोजकको जिम्मेवारी दिने समझदारी भएकोमा त्यसो हुन नसकेपछि नेता लोहनीले सो पार्टी परित्याग गरेका थिए ।

पार्टीको संस्थापन पक्ष तथा असन्तुष्ट पक्षका बीच सो समिति गठन गर्ने अनौपचारिक समझदारी भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । पार्टीको बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सो विषयलाई प्राथमिकतामा राखेर संयोजक तोकिनेछ ।

संविधान संशोधनको विषयमा पार्टीभित्र विवाद बढ्दै गएकाले अब सो विषयमा पनि बैठकमा निर्णय लिइने छ । त्यसैगरी, स्थानीय तहका छ प्रदेशमा भएका निर्वाचनको समीक्षाका साथै पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा पनि सोही बैठकले टुंगो लगाउने बताइएको छ ।

पार्टी अध्यक्ष कमल थापाले एकपक्षीय रुपमा ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि पार्टीभित्र वरिष्ठ नेता पशुपतिशम्शेर राणा पक्षधर असन्तुष्ट भई कार्यकर्ता भेला गरेको भएपनि देशभरका नेता तथा कार्यकर्ताको दबाब तथा मध्यमार्गी नेताले गरेका प्रयत्नका कारण उनीहरु बैठकमा सहभागी हुने भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस