भरतपुरमा च्यातिएका मतपत्र बारेको सुनुवाई फेरी सर्यो, अब सुनुवाई साउन ८ गते हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुरमा च्यातिएका मतपत्र बारेको सुनुवाई फेरी सर्यो, अब सुनुवाई साउन ८ गते हुने


२ श्रावण २०७४, सोमबार


काठमाडौँ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि रोकिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको अर्को सुनुवाई साउन ८ गते हुने भएको छ।

सोमबार ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई सुरु भए पनि कानून व्यवसायीको बहस नसकिएकाले यो मुद्दा हेर्दा हेर्दैमा परेको छ । हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुने भए पनि न्यायाधीश भण्डारी मंगलबार उपचारका लागि अमेरिका जान लागेका कारण उनी अमेरिकाबाट नफर्केसम्म मुद्दाको पेसि लम्बिएको हो ।

न्यायाधीश भण्डारी ७ गते नेपाल फर्कने र ८ गते आइतबार पुनः सुनुवाइ सुरु हुने सर्वोच्च अदालतले जनाएको छ ।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको २ महिना वित्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन । चुनाव जितेका वडा अध्यक्ष र सदस्यहरुले पनि काम गर्न पाएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस