चितवनमा एकै दिन एक सय ८३ मतदाता थपिए « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवनमा एकै दिन एक सय ८३ मतदाता थपिए


२ श्रावण २०७४, सोमबार


चितवन । निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन् ।

साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो । कार्यालयमा फोटो खिचाउन आउनु भएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गरे ।

विगत तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उनले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताए । पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो । संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ ।

भरतपुर–११ की २२ वर्षीया मोनिका पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकामा आफ्नो अधिकारबाट वञ्चित भएको बताउँदै यसपटक पहिलो दिन नै फोटो खिच्न आएको प्रतिक्रिया दिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस