भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भरतपुर अस्पतालमा ३२ प्रकारका अत्याधुनिक उपकरण


२८ असार २०७४, बुधबार


चितवन । भरतपुर अस्पतालमा करिब ३० करोड मूल्य बराबरका ३२ प्रकारका अत्याधुनिक उपकरण थप गरिएको छ ।

उपकरण थप भएपछि कतिपय थप सेवा सुरु हुने भएको छ भने कतिपय सेवा विस्तार गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीकाअनुसार धेरैजसो उपकरण आइसकेका छन् भने केही उपकरण आउने क्रममा छन् । अस्पतालको मागबमोजिम स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरी यसअघिनै बजेट सुनिश्चितता पत्र अस्पताललाई दिएपछि खरिद प्रक्रिया अघि बढेको थियो । डा. मरासिनीका अनुसार मिर्गौलाको डायलासिसका लागि आवश्यक १२ थान उपकरण अस्पतालमा जडान भइसकेको छ ।

जिल्लामा दुई मेडिकल कलेजले मात्र डायलासिस गर्दै आएकोमा अबको एक सातापछि भरतपुर अस्पतालमा पनि डायलासिस गरिने मरासिनीले बताए । त्यसैगरी अस्पतालमा १२८ स्लाइसको सिटिस्क्यान मेसिन पनि जडान भइसकेको छ ।

जिल्लामा मेडिकल कलेज र अस्पतालमा भन्दा उच्चस्तरको उपकरण सरकारी अस्पतालमा भित्रिएको उनले बताए । सघन उपचार कक्षका लागि पाँच थान भेन्टिलेटर, थप एक सेट ल्याबका उपकरण, एउटा एक्सरे, दुईवटा अल्ट्रासाउण्ड, एनेस्थेसिया उपकरण चार थान, १५ वटा शव राख्न मिल्ने एउटा फ्रिजर पनि थपिएको छ ।

कपडा धुने उपकरण पनि भित्र्याइएको छ । यसअघि अस्पतालमा हातले कपडा धोइदै आएको थियो । त्यस्तै अस्पतालभित्रै अक्सिजन उत्पादनका लागि आबश्यक उपकरणको एलसी खोली सकिएको छ । सबै उपकरण सार्वजनिक खरिद ऐनअन्तर्गत खरिद गरिएको मेडिकल सुपरिटेन्डेन्ट मरासिनीले बताए ।

मन्त्रालयले २३ करोड बजेट निकासा गरेकोमा प्रतिस्पर्धा भएका कारण ३० करोड बराबरको उपकरण खरिद गर्न सकिएको उनले बताए ।

चितवन र छिमेकी जिल्लाका गरी वार्षिक रुपमा करिब दुई लाख बिरामीले यो अस्पतालबाट सेवा लिने गरेको अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए ।

गरिब जनताले आर्थिक अभावमा उपचार नपाउने समस्याको अन्त्य गर्न नयाँ नयाँ उपकरण भित्र्याएर थप सेवा विस्तार गर्न अस्पताल लागि परेको पनि उनले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस