पहिराको उच्च जोखिममा रहेका ४५ घर स्थानान्तरणको तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पहिराको उच्च जोखिममा रहेका ४५ घर स्थानान्तरणको तयारी


२७ असार २०७४, मंगलबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराको उच्च जोखिममा रहेका ४५ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उनीहरुलाई भौतिक संरचनाको मुआब्जा माग गरी निवेदन दिनका लागि आज सातदिने सूचना जारी गरिएको छ । त्यसैगरी मुआब्जा निर्धारण गर्न सहायक प्रजिअ नेत्रप्रसाद शर्माको संयोजकत्वमा भवन तथा शहरी विकास डिभिजन कार्यालय र नारायणगढ–मुग्लिन सडक आयोजनाका एक एक इञ्जिनियर सदस्य रहेको समिति गठन गरिएको छ । भट्टका अनुसार बस्ती स्थानान्तरणका लागि जोखिममा रहेका घर भएको स्थानीय तह भरतपुर महानगरपालिका– २९ र इच्छाकामना गाउँपालिकालाई उचित ठाउँ खोज्न आग्रह गरिएको छ ।

सडकको भित्तो काटेर सडक फराकिलो बनाइएपछि ठाउँ ठाउँमा पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न सडक आयोजनाले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्राचार गरेको थियो । आयोजनाका सामाजिक विकास तथा पुनर्वासविज्ञ शिवराज सेढाईँले सो सडकको अध्ययन गरी प्रारम्भिक प्रतिवेदन आयोजनालाई दिएका थिए ।

सेढाईँका अनुसार त्रिशूली नदीतर्फको सेती दोभान, केराबारी, चोभार खोला, काली खोला, टोपे खोलालगायत क्षेत्रमा रहेका घर जोखिममा छन् । भित्तो काटिएका र नकाटिएका पहाडबाट पहिरो खस्न सक्ने जोखिम देखिएकाले ती घर स्थानान्तरणका लागि सुझाव दिइएको सेढाईँले बताए ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार आउँदो वर्षको बजेटबाट मुआब्जा दिने गरी ती घर अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरणका लागि आग्रह गरिएको छ । सो सडक राष्ट्रिय राजमार्गको अति महत्वपूर्ण सडकभित्र पर्छ । यस्ता सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५–२५ मि सडकको भागमा पर्छ । ती अधिकांश घर सडकको भागमा नै पर्छन् । उनीहरुले भौतिक संरचनाको भने सरकारी नियमअनुसार मुआब्जा पाउनेछन् । अति जोखिममा रहेका घर मात्र तत्कालका लागि स्थानान्तरण गर्न भनिएको हो । खनालका अनुसार सडकको मापदण्डअनुसार घर भत्काउने हो भने दासढुङ्गादेखि मुग्लिनसम्मका कुनै पनि घर सडक छेउमा बाँकी रहँदैनन् ।

सडकको एकापट्टि नदीको तीरमा साना घर छन् भने अर्कापट्टि छेउमा ६० मिसम्म अग्ला पहाड छन् । सोे सडक छेउमा होटल, किराना पसल, ग्यारेजलगायत व्यवसायसहित बसोबासका लागि पनि घर बनाइएका छन् ।

नारायणगढ– मुग्लिन सडकखण्डमा असारयता मात्र दैनिकजसो पहिरो खसेर नेपाल प्रहरीका भ्यान र ट्रक बगाएको थियो । त्यस्तै तीन प्रहरीको मृत्यु भएको र एक अझै बेपत्ता छन् । सडकबाट चिप्लिएर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । एक जनाको भने उद्धार गरिएको थियो । पहिराका कारण हाल सो सडकमा राति आवागमनसमेत बन्द गरिँदै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस