पहिरो पन्छाएपछि मुग्लिन सडक सुचारु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पहिरो पन्छाएपछि मुग्लिन सडक सुचारु


२७ असार २०७४, मंगलबार


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको हो ।

राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय ढिलो मात्र छाडिएको उनले बताए । यसले गर्दा सडकमा सवारीको चाप बढेको छ ।

आइतबार साँझदेखि रातको समयमा सो सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ । सवारी आवागमन रोकिए पनि रातको समयमा समेत तीनवटा र्यापिड रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको छ । यसले सडकको अवस्थाबारे राति पनि अनुगमन गर्ने गर्दछ । गएराति पनि दुईवटा एम्बुलेन्सलाई सोही टोलीले सडक पार गराएको थियो । सडकमा पहिरो खस्ने समस्या बढेपछि रातमा आवागमन रोक्नुका साथै सुरक्षा सतर्कता बढाइएको छ ।

थापाका अनुसार सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको छ । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए । तीनवटा टिमले सात/सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस