रुकुममा पहिलोपटक दम्पतीका नाममा लालपूर्जा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रुकुममा पहिलोपटक दम्पतीका नाममा लालपूर्जा


२३ असार २०७४, शुक्रबार


रुकुम । आठबिसकोट नगरपालिकाका एक जोडीले पहिलोपटक संयुक्त जग्गाधनी पूर्जा बनाएका छन् ।

घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्न आठबिसकोट नगरपालिका–११ का लालवीर कामी र विमला कामीले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त जग्गाधनी पूर्जा बनाएका हुन् ।

सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गाधनी पूर्जाको मान्यता दिए पनि यस जिल्लामा भने पहिलोपटक श्रीमानको नाममा भएको जग्गा श्रीमान् र श्रीमतीको नाममा संयुक्त पूर्जा हुने गरी रजिस्टे«सन गरिएको छ । यहाँ पछिल्लो समय महिलाको नाममा जग्गा रजिस्टे«सन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अहिलेसम्म कसैले पनि संयुक्त जग्गाधनी पूर्जा बनाएको थिएन ।

लालवीर र विमलाले पहिलोपटक संयुक्त पूर्जा बनाएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी डिल्ली खड्काले बताए ।

सम्पत्तिमा पनि बराबर स्वामित्व बनाउन आफ्नो नाममा रहेको एक हजार वर्ग मिटर क्षेत्रफल जग्गालाई दुवैको नाममा पूर्जा बनाएको लालवीरले बताए । खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत समुदायमा गठन भएका महिला सशक्तीकरण केन्द्रमा भएको छलफलबाट आफ्नो नाममा पनि सम्पत्ति हुनुपर्ने आफूले थाहा पाएको विमलाले बताइन् ।

आफ्नो नाममा पनि जग्गा हुँदा आफूले साँच्चिकै नयाँ जीवन पाएजस्तो अनुभूति गरेको पनि विमलाले बताइन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस