कैलालीको मोहन्याल गाउँपालिकाकामा एमाले विजयी « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

कैलालीको मोहन्याल गाउँपालिकाकामा एमाले विजयी


१८ असार २०७४, आइतबार


धनगढी । कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका नवलसिं रावलले एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढाले दुई हजार ३३ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रत्यासी थिए ।

भौगोलिक रुपमा बिकट उक्त क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण निर्वाचनसम्बन्धी विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।

७ नं. प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडाध्यक्षमा नेपाली काँग्रेसका सन्तोष मुडभरी र वडा नं. १८का अध्यक्षमा माओवादी केन्द्रका मुरारी अधिकारी विजयी भएका छन् । यस्तै वडा नं. १९का वडाध्यक्षमा एमालेका तिलुराम चौधरी विजयी भएका छन् ।

उपमहानगरको पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका नृप ओडले तीन हजार ४९७ प्राप्त गरेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमाल तीन हजार ८२ मतले पछ्याइरहेका छन् । एमालेका दुर्गाप्रसाद जोशीले दुई हजार ८५४ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा काँग्रेसकी सुशीला मिश्रले चार हजार नौ मत प्राप्त गर्दा एमाले उपप्रमुखकी प्रत्यासी रुक्मिणी देवकोटले तीन हजार ५७८ मतले पछ्याइरहेकी छिन् । कैलालीको लम्की चुहानगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेले अग्रता लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस