रोल्पाका तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोल्पाका तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी


१७ असार २०७४, शनिबार


रोल्पा । यहाँका तीन स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी भएका छन् । डाँगीले चार हजार छ सय आठ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएका छन् । बूढाले चार हजार छ सय आठ र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी डाँगीले एक हजार आठ सय ९९ मत प्राप्त गरेका छन् । सो गाउँपालिकामा रहेका सात वटै वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ ।

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार नौ सय ९० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरेका छन् ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी रामकिरणी रोका एक हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी श्रीकुमारी रोकाले नौ सय ९५ मत प्राप्त गरिन् । पाँच वटा वडा रहेको थवाङ गाउँपालिकामा चार वडामा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका आशबहादुर बुढा आठ सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ध्रुवबहादुर घर्तीले छ सय ३६ मत प्राप्त गरे । सो गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रकी पवित्रा घर्ती मगर आठ सय ७४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भिमली बुढाथोकीले छ सय ३५ मत प्राप्त गरिन् । सो गाउँपालिकामा माओवादी केन्द्रले तीन वटा वडा, एमालेले दुई वटा वडा र काँग्रेसले एक वडामा विजय हासिल गरेका छन् ।

एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक गरिएको छ । जिल्लामा बाँकी रहेका सबै स्थानीय तहको मतगणना जारी छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस